नेपालमा पनि बर्ड फ्लू देखिन थालेपछि विज्ञहरूले परीक्षणको दायरा विस्तार गर्नुपर्ने स्थिति आउन सक्ने औँल्याएका छन्।
त्यसैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षणका लागि प्रयोग गरिरहेका पशुपक्षी प्रयोगशालाहरू फिर्ता गर्न आग्रह गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको पीसीआर परीक्षणका लागि लिएका पाँच वटामध्ये एउटा मात्रै प्रयोगशाला अहिलेसम्म फर्काइएको बताइएको छ।
अहिले देशका कुनै पनि भागमा चराचुरुङ्गीहरू अस्वाभाविक रूपमा मरेको भेटिएमा काठमाण्डूमा ल्याएर परीक्षण गर्ने गरिएको अधिकारीहरूको भनाइ छ।
सङ्क्रमण बढ्दै गएमा समस्या हुने भन्दै प्रयोगशाला फिर्ताका लागि आग्रह गरिएको मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुख डा. विमल कुमार निर्मलले बीबीसीलाई बताए।
सबै प्रदेशका प्रयोगशालाहरू फिर्ता ल्याएर तयारी अवस्थामार राखिएमा बर्ड फ्लूको सङ्क्रमण बढेको बेलामा परीक्षण गर्न र बैलैमा नियन्त्रणमा ल्याउन सहज हुने उनको भनाइ छ।
अहिलेसम्म काठमाण्डूको तारकेश्वर नगरपालिकामा मात्रै बर्ड फ्लू देखिएको र अन्यत्रबाट ल्याइएका नमुना परीक्षण गर्दा नदेखिएको बताइएको छ। अहिले हवाई र सडक यातायाताका माध्यमबाट नमुनाहरु काठमाण्डू ल्याएर जाँच्ने काम भइरहेको छ।
पशुपक्षी विकास मन्त्रालयले अहिलेसम्म देखिएको बर्ड फ्लूको भाइरस मानिसमा असर गर्ने खालको नभए पनि यसले रूप परिवर्तन गर्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन भनेको छ।
देशका कुनै पनि भागमा अस्वाभाविक रूपमा पन्छीहरू मरेको देखिएमा खबर गर्न र बेलैमा परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।
बिबिसी