गत माघ ६ गते झापा शनिश्चरेका मानबहादुर कार्की आफूले दैनिक खाने औषधि लिन शनिश्चरे अस्पतालमा रहेको एउटा फार्मेसीमा गए।
उनले स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएर त्यही कार्यक्रमअन्तर्गतका औषधि लिएर खाने गरेका छन्।
उनको रगतमा बढेको कोलेस्ट्रोल घटाउन प्रति १० गोलीको भारतीय रुपैयाँ २० रुपैयाँ ८५ पैसा पर्ने २० मिलिग्रामको 'एटोरभास्टाटिन' औषधि दिइयो।
तर उनको बिलमा भने प्रतिगोटा नेपाली २० रुपैयाँ ६० पैसा चढाइयो।
यो घटना उनका लागि नौलो होइन। उनले जहिले जहिले औषधि ल्याउँछन्, बीमाको मूल्यभन्दा कम मूल्यको औषधि पाउँछन्।
अर्जुनधारा-८ की ७० वर्षीय गीतादेवी बुढाथोकीले त्यही १० मिलिग्रामको 'एटोरभास्टाटिन' औषधि बीमामार्फत् सोही फार्मेसीबाट ल्याइन्।
उनले पाएको औषधिको मूल्य प्रति १० गोलीको भारतीय रुपैयाँ २४ रुपैयाँ ११ पैसा औषधिको पत्तामा उल्लेख छ। तर बीमाको बिलमा भने प्रतिगोली नेपाली रुपैयाँ १० रुपैयाँ ७७ पैसा लेखिएको छ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत् नै झापाको बिर्तामोडमा रहेको कन्काई अस्पतालमा उपचार गराइरहेकी मैनादेवी रिजालले माघ ७ गते औषधि खरिद गर्दा २० मिलिग्रामको 'रोजुभास्टाटिन' औषधि प्रति १० गोली भारतीय रुपैयाँ १९० रुपैयाँ ८४ पैसाको पाइन्।
कुन प्रकारका औषधि धेरै छन् बीमामा?
उनको बिलमा उक्त औषधिको मूल्य नेपाली रुपैयाँ ४०२ रुपैयाँ ३० पैसा जोडिएको छ।
यी त केही उदाहरण मात्र हुन्। स्वास्थ्य बीमा कार्यक्रमबाट औषधि खाने धेरैले बीमाको रकमभन्दा धेरै कम मूल्यका औषधि खाने गरेको तर औषधि विक्रेताले बीमाकै दररेट अनुसार बीमा बोर्डबाट भुक्तानी लिइरहेको औषधि विक्रेताहरूले बताउने गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका अधिकांश दीर्घरोगीहरू रहेका बीमा बोर्डका अधिकारीहरू बताउँछन्।
खासगरी उमेर ढल्किँदै जाँदा लाग्ने मधुमेह, रक्तचाप तथा थाइराइड ग्रन्थीका दीर्घरोग भएका बिरामीहरू बीमा कार्यक्रममा समावेश भएका उनीहरूको भनाइ छ।
औषधिका एक थोक विक्रेता नरेन्द्र बरालका अनुसार यिनैका औषधि बीमामा ज्यादा खपत हुने गरेका छन्।
बीमाले दिने थोरै, विक्री मूल्य धेरै
स्वास्थ्य बीमा कार्यक्रममार्फत् औषधि विक्री गर्ने फार्मेसीले कम मूल्यका औषधि बेचेर बीमाबाट बढी रकम लिएको तथ्य बाहिर आइरहेका बेला फार्मेसी सञ्चालकहरू बीमाले दिने रकम थोरै तर आफूले खरिद गर्ने गरेको मूल्य धेरै रहेका औषधिहरू पनि रहेको बताउँछन्।
शनिश्चरे फार्मेसीमा बीमामार्फत् विक्री गरिने औषधिका बारेमा जिज्ञासा राख्न जाँदा फार्मेसीका एक सञ्चालक शुभम् मैनालीले बीमाले दिने रकम थोरै तर आफूले खरिद गर्ने गरेको मूल्य धेरै रहेका केही औषधिका सूची देखाए।
उनले भने, "थाइरोनर्म, आस्थालिन, इन्सूलिनजस्ता औषधि हामीले धेरै मूल्य हालेर खरिद गरे पनि बीमामा तिनको मूल्य कम छ। बीमाको मूल्यभन्दा बढी हामीले भुक्तानी पाउँदैनौँ।"
कन्काई अस्पतालमा रहेको फार्मेसीका सञ्चालक महेन्द्र राईले पनि त्यस्ता औषधिका सूची देखाए।
तर औषधिका थोक विक्रेताहरूका अनुसार त्यस्ता औषधि पनि धेरै मात्रामा खरिद गर्दा कम्पनीहरूले सहुलियत मूल्यमै उपलब्ध गराउने गरेका छन्।
बीमा बोर्डको दरले के भन्छ ?
स्वास्थ्य बीमा बोर्डले गत २०७४ सालमा बीमामा समावेश गरिएका औषधिको दर कायम गरेको थियो।
अहिलेसम्म पनि त्यही दरमा बीमाको औषधि वितरण गर्ने फार्मेसीलाई औषधिको भुक्तानी दिने गरेको बोर्डले जनाएको छ।
तर औषधिका विक्रेताका अनुसार २०७४ सालदेखि हालसम्म धेरै पटक औषधिका मूल्य परिवर्तन भइसकेका छन्।
बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवालीका अनुसार औषधि पसलहरूले जतिमा औषधि खरिद गरे पनि उनीहरूलाई बीमाकै दर अनुसार भुक्तानी गर्ने गरिएको छ।
ज्ञवालीले भने, "चार वर्ष हुन लाग्यो दर कायम भएको, अब उक्त दर परिमार्जन गर्ने बेला पनि भएको छ। छिट्टै यो काम हुन्छ।'
स्वास्थ्य बीमा बोर्डले ११ सय भन्दा बढी प्रकारका औषधि सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ।
औषधिमा 'कालोबजारी'
औषधि व्यवस्था विभागका अनुसार एउटा दर भएको औषधिको बढी मूल्य भुक्तानी लिनु नियमविपरीत हो।
विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार जतैबाट भुक्तानी लिए पनि औषधिको जति मूल्य छ त्यो भन्दा बढी लिन मिल्दैन।
केसीले भने, "यो त उसै पनि मिल्दैन। बीमाको व्यवस्था के छ भनेर बीमामै सम्पर्क राख्नुपर्छ। तर मूल्यभन्दा बढी रकम लिनु चाहिँ नियमविपरीत हो।"
नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार मूल्यभन्दा बढी रकम बीमाबाट असुल्नु औषधिमा "कालोबजारी गर्नु" हो।
उनले भने, "यस्तो गर्ने विक्रेताका लागि सरकारले के कारबाही गर्छ हामी साथ दिन्छौँ।"
तर बीमा बोर्डबाट अहिलेसम्म उक्त विषयमा कुनै अनुगमन नभएको कारण बीमाको औषधि बिक्रीमा मनोमानी बढेको सर्वसाधारण बताउँछन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बीमाको औषधि विक्रीमा सेवाग्राहीलाई कम मूल्यको औषधि दिने तर बीमाबाट बढी मूल्य लिने गरेको कुरा मन्त्रालयलाई अहिलेसम्म जानकारीमा नरहेको बताए।
उनले भने, "यो त हुनै नहुने कुरा हो। अनुगमनका लागि बोर्ड स्वायत्त निकाय हो। मन्त्रालयलाई जानकारी भएमा कारबाही अगाडि बढाउँछ।"
स्वास्थ्य बीमा बोर्ड नियमावली २०७५ को परिच्छेद ७ को दफा ३० अनुसार बोर्डले नै उपसमिति बनाएर बीमाको औषधि विक्रीसम्बन्धी सेवाको अनुगमन गर्ने व्यवस्था छ।
बिबिसी