गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आइतवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डसँग उनको ललितपुरको खुमलटारस्थित निवासमा गएर भेटवार्ता गरेका छन्।
शेरचन २०६२ सालको जनआन्दोलन गरेका सातदलीय गठबन्धनको एउटा घटक जनमोर्चाको अध्यक्ष थिए।
जनआन्दोलन सफल भएपछि उनको दल र नेकपा माओवादीबीच एकीकरण भएको थियो। उक्त माओवादी पार्टी र नेकपा एमालेबीच एकीकरण भएर अहिलेको नेकपा बनेको हो।
नेकपा दुई भागमा विभाजित बनेर एउटा सरकारमा छ र अर्को आन्दोलनका क्रममा सडकमा।
प्रदेश प्रमुखको संवैधानिक भूमिकामा पुगेपछि मौन उनले बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको निम्ति स्थायित्व आवश्यक रहेको बताए।
शेरचन भन्छन्, "सबै जनाको त्यही खालको त्यही खालको चाहना भइदिए राम्रो हुन्छ भन्ने शुभेच्छाबाहेक मैले पदीय दृष्टिले त्योभन्दा बढी भन्न नसक्ने अवस्थामा छु।"
गण्डकी प्रदेशबारे 'शेरचन सूत्र'
प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्डपक्षले अविश्वास प्रस्ताव दर्ता गरेको छ।
तर प्रदेश प्रमुख शेरचन आफूले गण्डकी प्रदेश सरकारको स्थायित्वको पक्षमा सुझाव दिएको जानकारी दिँदै अन्य दुई प्रदेशको जस्तो अवस्था त्यहाँ नरहेको सुनाए।
आफूले सर्वदलीय छलफल गरेको उल्लेख गर्दै उनले भने, "प्रदेशको स्थायित्व र समृद्धिबारे 'हामी सबैको दृष्टिकोण एक हुनुपर्छ, बाहिर गर्ने र दलले गर्ने कुरा बेग्लै हुन्छ, मिलेर जानुहोस् तपाईँहरू' भन्ने कुरा भयो, उहाँहरू अहिलेसम्म सहमत हुनु भएको छ र मिलेर अगाडि बढ्नु भएको छ।"
विगत सम्झिँदै व्यक्त गरे चिन्ता
जनआन्दोलनअघि सशस्त्र द्वन्द्वमा हजारौँ मानिसहरू मारिएका घटनाको सन्दर्भ उल्लेख गर्दै उनले राजाको प्रत्यक्ष शासनविरुद्ध माओवादीसँग सहकार्य गर्न नेपाली कांग्रेसलाई सहमत गराउन आफूले प्रयास गरेको सुनाए।
"गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)जस्तो भिन्न विचार भएको नेतालाई सहमत गराउन मेरो ठूलो मेहनत छ, उहाँ सहमत भइसकेपछि राष्ट्रले एउटा निकास पायो," शेरचन भन्छन्, "त्यो सधैँ कायम रहिरहनुपर्छ भन्ने मेरो मनमा त हुने नै भयो, त्योभन्दा दायाँबायाँ नहोस् भन्ने चिन्ता स्वाभाविक हो, म अलिकति चिन्तित नै छु।"
जनआन्दोलनअघि तत्कालीन सात दलले गर्न गरेका विरोध प्रदर्शन र सभाहरूमा उनी गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूसँगै देखिन्थे।
जनआन्दोलन सफल भएपछि उनी कोइरालाकै नेतृत्वको सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री थिए।
अहिले प्रचण्डपक्ष फेरि आन्दोलनमा छ शेरचन भने प्रदेश प्रमुखको भूमिकामा छन्।
ओली-प्रचण्डलाई दिएको सुझाव
पछिल्ला दिनमा आफ्नै पूर्वपार्टीमा देखिएको विग्रहका सन्दर्भमा उनले आफू 'सहमतीय प्रणालीको पक्षपाती रहेको र विभिन्न कारणले संवैधानिक उक्त व्यवस्था संशोधन गर्नु परेको' उल्लेख गरे।
शेरचनका भनाइमा प्रधानमन्त्री, राष्ट्रपति वा प्रचण्ड जोसुकैसँगको भेटमा पनि उनले 'मिलेरै अगाडि बढ्दा राम्रो हुने' सुझाव दिने गरेका छन्।
प्रचण्ड पोखरा पुगेका बेला आफूलाई भेट्न गएको र प्रधानमन्त्री गएका बेला आफूले भेट गरेको जानकारी दिँदै शेरचनले उही सुझाव दिएको बताए।
"स्थायित्व दिने गरेर अगाडि जानुपर्छ भनेर मैले त सुझाव दिने कुरा हो, म कुनै कार्यकारी भूमिकामा छैन, भेट भएका सबैलाई दिने गरेको छु," शेरचनले भने।
जबाफ नआएको त्यो प्रश्न…
प्रचण्डको सचिवालयका अनुसार शेरचनले आइतवार बिहान प्रचण्डसँग भेट गरेका छन् र त्यो शेरचनकै अग्रसरतामा भएको हो।
के त्यो भेटमा पनि उनले प्रचण्डलाई मिलेरै अघि बढ्न र स्थायित्वकै पक्षमा सुझाव दिए?
यो प्रश्नलगत्तै फोनमा केही बेरको उनको 'हेलो-हेलो' भन्ने आवाजबाहेक जबाफ सुनिएन।
पछि पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन र अधुरै रह्यो त्यो प्रश्न।
संवैधानिक भूमिकामा रहेका उनले पार्टीको विपक्षी खेमाको नेतृत्वकर्तासँग गरेको छलफल पुष्टि गर्न नचाहेका हुन् वा फोनमा प्राविधिक गडबडी उत्पन्न भएको हो त्यो पनि थाहा हुन सकेन।
बिबिसी