काठमाडौं- पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर थप बढाउनु पर्ने बताउका छन् ।
विश्व क्यान्सर दिवसको पूर्वार्धमा नेपाल अर्वुद रोग निवारण संस्थाले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सुर्तीजन्य पदार्थले गर्दा नसर्ने रोगहरु बढ्दै गइरहेको छ जसलाई रोक्नका लागि सुर्तीजन्य पदार्थमा कर बढाउँनु पर्ने उनले बताए ।
उनले भने जथाभाबीरुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा पनि रोक लगाउनु पर्छ । हालको समयमा विशेषगरि सूर्तिजन्य पदार्थमा युवा तथा किशोरहरु पसिरहेका छन् यसलाई रोक्न उत्तिकै आवश्यक छ ।
नेपाल अर्बुद निवारण संघका केन्द्रिय सदस्य तथा डा। प्रदिप बैद्यका अनुसार क्यान्सर बनाउने मुख्य तत्वका रुपमा सूर्ति, धुम्रपान, हुक्का, इ-चुरोट , रेडिएसन , असुरक्षित यौन सम्पर्क र सूर्यको किरण रहेको बताए। उनले भने 'सूर्तिजन्य पदार्थ नै क्यान्सरको मुख्य कारण हो। चुरोटमा १२ किसीमका केमिकलहरु राखिएर तयार परिएको हुन्छ जो स्वास्थ्यका लागि निकै हानिकारक छ । धूमपान गर्नेले उडाएका धुवाँले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ ।'
क्यान्सर पत्ता लगाउन सबै भन्दा गाह्रो विषय बनेकाले जनचेतना फैलाउनु नै यो रोगबाट बच्ने उपाय रहेको डा। बैद्यले बताए ।
कार्यक्रममा अर्वुद रोग निवारण संस्थाका अध्यक्ष इश्वर श्रेष्ठले क्यान्सर रोगको मुख्य कारण धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन नै हो भन्दै त्यसलाई रोक्न सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्नेमा जोड दिए ।
नेपाल अर्बुद निवारण संघका अनुसार नेपालमा वर्षेनि २६ हजार नयाँ क्यान्सरका बिरामी थपिएका छन् भने १७ हजारको मृत्यु भइरहेको छ ।