सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापाले ‘मांसाहारी आन्दोलन’ सह्य नहुने र राज्यले त्यस्तो आन्दोलन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
काठमाण्डूमा दरबारमार्गमा भइरहेको नेकपाको जनसभामा बोल्दै उनले प्रचण्ड-माधवकुमार नेपाल समूहको नेकपा ‘प्रतिगामी अवसरवादी’ भएको टिप्पणी गरे।
उनले पार्टीको अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति तीनै जनालाई अपदस्थ गर्ने षड्यन्त्र भएपछि अस्थिरता आउन नदिन चुनावको घोषणा गरिएको बताए।
उनले वैशाखका लागि घोषणा भएको चुनाव आन्दोलनजस्तै भएको उल्लेख गर्दै त्यसलाई जनताको साथ लिएर सफल बनाउने दाबी गरे।
अर्को समूहका अध्यक्ष प्रचण्डले केही दिनअघि दिएको "मांसाहारी आन्दोलन" बारे टिप्पणी गर्दै गृहमन्त्रीले भने, “मांसाहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ। ती मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जूमा लगेर बन्द गरिनेछ।”
थापाले जनताले मात्रै अब वामपन्थी दलहरूलाई एकजुट बनाउन सक्ने दाबी गरे।
हजारौँको सङ्ख्यामा सत्तारूढ पक्षका समर्थक सहभागी उक्त सभामा केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।
सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरूले सम्बोधन गर्दैछन्।