काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ । पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपंक्षीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरि उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो ।
कोषले हिन्दु धर्माबलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउन अभियान अघि सारेको हो । आन्तरिक मात्र नभई विदेशी पर्यटकहरूको समेत रोजाइको गन्तव्य पशुपति क्षेत्रभित्र पछिल्लो समयमा चर्को स्वरमा संगीत बजाउने, जुम्बा डान्स गर्ने, योगको नाममा अप्राकृतिक गतिविधि हुँदै आएको छ ।
कोषले धार्मिक आस्थाको केन्द्रलाई ध्यान गर्ने स्थलको रुपमा कायम राख्न अप्राकृतिक गतिविधि रोक्न सुरु गरेको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले विशुद्ध रुपमा योग र ध्यान गर्ने केन्द्र पशुपति क्षेत्रमा पछिल्लो समयमा गलत अभ्यास भएपछि त्यसलाई रोक्न काम सुरु गर्न लागिएको बताए ।
सुरक्षा निकाय, स्थानीयवासी र सरोकारवालाको सहकार्यमा कोषले अभियानकै रुपमा गलत गतिविधि पशुपति क्षेत्रभित्र हुन नदिने उनले बताए । पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली, शिव र पार्वतीको क्रीडास्थलको रुपमा रहेको बताउँदै विशुद्ध धार्मिक आध्यात्मिक ध्यान केन्द्रमा उत्श्रृंखल गतिविधि हुन गलत भएको बताएको छ ।
कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरू हुनु आपत्तिजनक विषय भएको बताउँदै ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्न नदिने बताएको छ ।
धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपछी, आवतजावत गर्न कठिन हुनुको साथै उनीहरूको दैनिकीमै असर पुगेको कोषले जनाएको छ ।
भण्डारखाल क्षेत्रमा गलत क्रियाकलाप बढ्दा साधुसन्तहरूको ध्यान र पूजामा समेत नकारात्मक असर पुगेको बताउँदै उनले यस्ता क्रियाकलापले ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटविरुवा जंगल क्षेत्रमा रहेका संरक्षित सम्पदाहरूको समेत विनाश बढेको बताए ।
यस्ता खालका गतिविधि नगर्न र नगराउन आग्रह गर्दै कोषले आग्रहलाई बेवास्ता गरे कानुन बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।