काठमाडौं- सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारहरुलाई कोभिड विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको कोभिड विरुद्दको खोप अभियान सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको छ।
शनिबार बसेको मन्त्रलायको बैठकले सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय लिएको मन्त्रालयले जनाएको छ ।
पाटन अस्पतालमा युनएन एजेन्सीमा काम गर्ने स्वदेशी तथा विदेशी कर्मचारी र तिनका परिवारलाई खोप दिने तय गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई र सिभिल अस्पतालमा पत्रकारहरुलाई खोप दिने योजना बनाइएको छ ।
पत्रकारहरुले खोप लगाउन जादा सूचना विभागको प्रेस पास देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणक खोप देशभरबाट एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।
जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन्।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो।