काठमाडौं । सप्तकोसी नदीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् ।
हिजो बिहान सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उनको भनाइ छ ।
त्यस्तै, देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको छ ।
यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, दोलखाको तामाकोसी नदी र प्युठानको लुङ्गरी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।