काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ ।
हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाडौं उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
त्यस्तै, आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले काठमाडौंसँग जोडिएको मुख्य राजमार्ग नौबिसे– मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सडकको अवस्था बुझ्न प्रहरीको सुझाव छ ।