बहिनीको पढाइका लागि पैसा कमाउन भारत गएका प्रकाश भट्ट मर्माहत भएर आइतवार घर फर्केका छन्।
बहिनी भागरथी भट्ट सम्झँदै उनले भने, "घरको गरिबी हटाउने सपना बोकेकी बैनी आज यो अवस्थामा देख्नु पर्दा बाँच्ने आशा नै रहेन।"
गाउँमै १२ कक्षामा व्यवस्थापन विषय लिएर पढिरहेकी बहिनीको पढाइका लागि पैसा कमाउन भारत गएका उनले बताए।
बिहीवार बहिनीको बीभत्स अवस्थामा शव भेटिएयता आफ्नो 'आमाको अवस्था नाजुक रहेको र कसैसँग कुरा गर्ने अवस्थामा नरहेको' भट्टले बताए।
तीन जनाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकेर एक महिनाअघि मात्र मधुमेहकाका कारण आफ्नो बुवा बितेको प्रकाशले बताए।
अहिले प्रकाश भट्ट र उनकी आमा मात्रै होइनन्, उनीहरूको चढेपानी गाउँ शोकाकुल छ।
घटनाले शोकाकुल
सुदूरपश्चिमकै कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना टुङ्गोमा पुग्न नपाउँदै बैतडीमा १७ वर्षीय भागरथी भट्टको शव भेटिएको घटनाले सुदूरपश्चिमवासीलाई चिन्तित बनाएको छ।
भागरथीका काका शङ्कर भट्टले भने, "छ दिन बितिसके पनि प्रहरीले केही पत्ता लगाएको भनेको छैन। कतै यो घटना पनि गर्भमै रहन्छ कि भन्ने आशङ्का हामीलाई लागेको छ।"
माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चढेपानीस्थित सनातन धर्म माविकी विद्यार्थी भागरथी भट्टको बनलेक सामुदायिक वनको जङ्गलमा शव भेटिएको थियो।
प्रहरीले हालसम्म थुप्रै व्यक्तिहरूसँग सोधपुछ परे पनि यथार्थ पत्ता लागेको बताएको छैन।
यो ढिलाइले घटनाले राजनीतिक रूप लिएर निर्मला पन्तको जस्तै हुन्छ कि भन्ने परिवारजनमा चिन्ता बढेको छ।
'चौतर्फी अनुसन्धान'
प्रहरीको प्रारम्भिक अध्ययनले हत्या भएको अवस्थामा भागरथी भट्टको शव भेटिएको देखाएको बताइएको छ।
प्रहरीले बलात्कारपछि हत्या आशङ्कामा अनुसन्धान अगाडि बढाएको बताएको छ।
तर यकिन विवरण सोमवार सकिएको भनिएको पोस्टमार्टमको रिपोर्टले दिने अपेक्षा गरिएको छ।
अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तमराज सुवेदी बैतडी पुगेर घटनाको अध्ययन सुरु गरेको बताउँछन्।
सुवेदीले 'मिडियालाई दिने खालको कुनै ठोस कुरा नभए पनि अनुसन्धानलाई फराकिलो तरिकाले सम्भावित सबै प्रक्रिया अपनाएर चौतर्फी रूपमा अनुसन्धान गरिरहेका छौँ' भनेका छन्।
उनले धेरैलाई अनुसन्धानको दायरामा राखेर काम भइरहेको जानकारी दिए।
'अपराधीलाई पक्राउ गरी कारबाहीको माग' गर्दै आइतवारदेखि नै बैतडी लगायत धनगढीमा समेत प्रदर्शन भइरहेको छ।
बिबिसी