पहिलो चरणमा स्वास्थ्यकर्मीसहित चार लाख ३० हजार जनालाई कोभिड खोप दिने लक्ष्य राखेपनि आधाभन्दा कमले मात्रै खोप लिएको सरकारी तथ्याङ्क छ।
स्वास्थ्य मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक गौतम जिल्लाहरूको लक्ष्यमध्ये ८२ प्रतिशतभन्दा बढीलाई पहिलो चरणमा खोप उपलब्ध गराउनु महत्त्वपूर्ण ठान्छन्।
खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेती भर्खरै खोप अभियान थालिएकाले धेरै जना 'पर्ख र हेर' कै चरणमा रहेको बताउँछन्।
सङ्क्रामक रोगसम्बन्धी विज्ञले नयाँ खोपबारे पर्याप्त चेतना र आत्मविश्वास दिलाउन नसकिएकाले यो अवस्था आएको बताएका छन्।दोस्रो चरणमा सोमवारबाट राष्ट्रसङ्घीय निकाय, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरूलाई खोप दिन थालेको छ।
'डर लागेर कुर्ने निर्णय लिएँ'
पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइ कर्मचारी र एम्बुलेन्स तथा शव वाहन चालकहरूलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएको थियो।
चार लाख ३० हजार जनाले पहिलो चरणमा खोप लिने भनिएको भए पनि शनिवार साँझसम्म १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्रै खोप लिएका थिए।
वीरगञ्जस्थित आँखा अस्पताल मात्रिका आइ फाउण्डेशनका चिकित्सक डा. महेश सिंह धामीले सहकर्मीहरूसँग छलफल गरेर तत्कालै खोप नलिने मनस्थिति बनाएको बताए।
उनी भन्छन् “खोपको साइड इफेक्टका खबरहरू आएकोले हामीले एक दुई महिना हेर्ने कि भनेर सबैले सल्लाह गरेर नलिएको हो। मनमा डर नै भएर अहिले नलिएको हो।”
स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी विज्ञ समितिले तयार पारेको एउटा दस्तावेज अनुसार खोप दिनुपर्ने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीको सङ्ख्या झण्डै साढे तीन लाख रहेको छ।
सरकारले पहिलो चरणमा झण्डै ६० हजार महिला स्वयम्सेविकालाई खोप उपलब्ध गराउने लक्ष्य राखेको थियो।
जुम्लाकी महिला स्वयम्सेविका मेनुकादेवी उपाध्याय भन्छिन्, “मलाई त थाहा नै भएन। बिरामी पनि थिएँ।"
"अस्पतालमा सल्लाह गरेर लाउन दिनुहुन्छ भने लगाउन माग गर्ने हो। दिनुभएन भने के गर्न सकिन्छ भनेर पनि सल्लाह गर्छौँ। सबैले लगाए राम्रो हुन्थ्यो भन्ने मेरो विचार हो।”
गाउँघरमा गएर मानिसहरूलाई विभिन्न स्वास्थ्यसम्बन्धी विषयहरूमा आफूहरूले सुनाउने गरेको भएपनि भएपनि आफूसँग खोपबारे पर्याप्त जानकारी नभएको उनको भनाइ छ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका ढुङ्गेसाँघुकी स्वयम्सेविका देवीमाया भट्टराई खर्चका कारण खोप लगाउन सदरमुकामसम्म आउन नसकेको बताउँछिन्।
उनले भनिन्, “गाउँबाट सदरमुकामसम्म जाँदा पाइलैपिच्छे खर्च हुन्छ। त्यहाँ पुग्दा र आउँदा खाने बस्नेमै कम्तीमा हाम्रो पाँच हजार रुपैयाँ खर्च हुन्छ।"
"सरकारले दुर्गम क्षेत्रका महिला स्वयम्सेविकालाई राहत मिल्ने गरी दोस्रो चरणमा खोप उपलब्ध गराउला भन्ने आशा गरेकी छु।”
नेपालले दिइरहेको ‘कोभिशील्ड’ नामक खोप गर्भवती तथा स्तनपान गराइरहेका महिला र १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूलाई उपलब्ध गराइएको छैन।
जिल्लाले निश्चित गरेका लक्ष्यको ८२ प्रतिशतले खोप लगाए
विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासका अनुसार सुरुमा खोपप्रति अनिच्छा देखिएको जस्तो भएपनि उक्त अस्पतालका अधिकांशले खोप लिएको बताए।
उनका अनुसर विराटनगर महानगरपालिकाका निजी अस्पतालसहित गरेर कोशी अस्पतालको खोप केन्द्रबाट साढे २८ सय भन्दा बढीले खोप लिएका छन्।
उनी भन्छन्, “शत प्रतिशतले लिने परिस्थिति कहिल्यै हुँदैन। हाम्रो अस्पतालका अधिकांशले लिइसक्नुभएको छ।”
स्वास्थ्य मन्त्रालयका डा. गौतमले पहिलो चरणका क्रममा खोप कार्यक्रम महत्त्वपूर्ण प्रगति देखिएको बताउँछन्। उनले भने, “प्रत्येक जिल्लाहरूबाट हामीले मगाएको लक्षित सङ्ख्याका आधारमा हामीले ८२ प्रतिशत भन्दा बढीलाई खोप लगाएका छौँ।"
"केन्द्रमा हामीले करिब ४ लाख ३० हजार जति पुग्छ होला भनेर अनुमान गरेका थियौ त्यो हेर्यो भने ४३ प्रतिशत जति हुन्छ। यसलाई प्रतिशतको आधारमा हेर्नु उपयुक्त हुँदैन।”
“यो खोप स्वेच्छिक हो। हामीले कसैलाई पनि बाध्य पार्न सक्दैनौँ। अहिले हामीले खोप दिएका व्यक्तिको सङ्ख्या पनि ठूलो हो।"
"हामीले जुन खोप तल जिल्लाहरूमा पठाएका छौँ त्यो एकदमै न्यून एक प्रतिशतभन्दा कम खेर गएको छ। त्यसकारणले खोप अधिकतम सदुपयोग भएको छ।”
डा. गौतमले विशेष अवस्थामा बाहेक स्वेच्छाले पहिलो चरणमा खोप नलिएका व्यक्तिहरूले अब सर्वसाधारणसँगै खोप प्राप्त गर्ने बताए।
नेपालमा हाल प्रयोग गरिएको खोपले गम्भीर खालको नकारात्मक असर नगर्ने र खोप लिएपछि मध्यम खालको ज्वरो, जिउँ दुख्ने जस्ता साधारण समस्या देखिनसक्ने विज्ञहरूले बताउने गरेका छन्।
प्रेरित गर्न के गर्ने ?
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. शेरबहादुर पुन खोप लगाएर समस्या आउने हो वा होइन भन्ने शङ्का-उपशङ्का स्वास्थ्यकर्मीमा पनि देखिएको बताउँछन्।
उनले भने, “धेरै जनामा तत्कालै खोप आइपुग्ला र हामीले लगाउँला भन्ने थियो जस्तो मलाई लाग्दैन।"
"खोपको सुरक्षा र प्रभावकारिताबारे पर्याप्त मात्रामा जानकारी हामीले दिन सकेनौँ। खोप ल्यायौँ अनि सुरुमा नै यो समूहलाई दिने भन्यौँ त्यसले तरङ्ग नै निम्त्यायो।”
डा. पुनका अनुसार नयाँ रोग र त्यससँग जुझ्न वैज्ञानिकहरूले द्रुत ढङ्गले विकास गरेको खोप लगाउने विषयमा शङ्का उपशङ्का देखिनु ‘अनौठो’ होइन।
उनले भने, “एउटा निश्चित समूहलाई दिने भनिए पनि उच्चपदस्थ व्यक्ति अथवा चिनिएका लोकप्रिय अनुहारहरूले खोप लिएको देखाइदिन पाएको भए त्यसले सकारात्मक प्रभाव पार्थ्यो भन्ने मलाई लाग्छ।”
अहिले देखिएको समस्या सम्बोधन गर्न जरुरी रहेको भन्दै डा. पुनले थपे, “खोप लगायो भने यो यो फाइदा हुन्छ यति सुरक्षित छ भनेर पर्याप्त मात्रामा जानकारी उपलब्ध गराउनुपर्छ।”
भारतले अनुदान स्वरूप उपलब्ध गराएको १० लाख मात्रा अक्सफर्ड एस्ट्राजेनेकाको खोप प्राप्त भएसँगै नेपालले पहिलो चरणको खोप कार्यक्रम थालेको थियो।
यो बीचमा खोप उत्पादक भारतीय कम्पनी सीरम इन्स्टिच्यूटसँग थप खोप खरिदबारे सम्झौता हुन लागेको र चीन सरकारले पनि अनुदान स्वरूप ५ लाख खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अधिकारीहरूले बताएका छन्।
गरिब तथा मध्य आय भएका देशहरूलाई खोप उपलब्ध गराउन पहल गरिरहेको कोभ्याक्स अभियानले पनि प्राथमिकतासाथ नेपाललाई २२ लाख मात्रा खोप उपलब्ध गराउन लागको विवरण आएका छन्।
’
बिबिसी