भारतमा सामूहिक बलात्कारमा संलग्न भएको प्रमाणित भइ जन्मकैदको सजाय पाएका ११ पुरुषलाई रिहा गर्ने सरकारको निर्णय विरुद्ध देशभर व्यापक प्रदर्शन भइरहेको छ ।
सन् २००२ मा गुजरातमा धार्मिक दंगा फैलिएका बेला मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेका उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
तत्कालिन समयमा भएको धार्मिक दंगामा बानोका परिवारका १४ सदस्य पनि मारिएका थिए । अभियुक्त ११ जनाले १५ वर्ष जेलमा बिताएपछि सरकारले हालै रिहा गर्ने निर्णय गरेको हो । तर सरकारको निर्णय विरुद्ध भारतमा व्यापक प्रदर्शन भइरहेको छ ।
बलात्कारीलाई रिहा गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनकारीहरु सडकमा उत्रिएका छन् । सरकारको निर्णय विरुद्ध कलाकार, अधिकारकर्मी, विद्यार्थी तथा समाजका अन्य प्रतिष्ठित व्यक्तित्व पनि सहभागी छन् ।
बलात्कारीलाई रिहा गर्दा समाजमा महिलाहरुको सुरक्षामा असर पर्ने भन्दै भारतका १ सय बढी अवकाश प्राप्त निजामति कर्मचारीले न्यायाधिशलाई निवेदन दिएका छन् । गुजरात सरकारले हालै ७५ औं स्वतन्त्रता दिवसका अवसरमा बलात्कारमा संलग्न पुरुषलाई रिहा गर्ने निर्णय गरेको हो ।-