प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको लाचार छाया नभएको बताउँदै आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने बताएका छन्।
आयोगको ३० औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रम ओलीले भने, “कतिपय मानिसहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे भ्रम परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया पनि होइन। अहिलेको सरकार कुनै पनि निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन चाहान्छ र दिन्छ।"
आयोगलाई देश र जनतालाई शीरमा राखेर अघि बढ्न आग्रह गर्दै ओलीले ‘त्रासबाट मुक्त’ भएर काम गर्न सुझाए। उनले आवश्यक सुरक्षा व्यवस्था राज्यले गर्ने भन्दै निडर भएर आयोग अघि बढ्नुपर्ने उल्लेख गरे।
नेपालमा कसैलाई पनि चोखो बन्न दिनुहुँदैन भन्ने विकृत मानसिकता देखा परेको उल्लेख गर्दै उनले ‘जसलाई पनि हिलो छ्याप्नुपर्ने’ सोचाइ अन्त्य गरिनुपर्ने बताए। उनले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत कतिपय संस्थाले पनि बड्डपन देखिएको भन्दै असन्तुष्टि जनाए।
भ्रष्टाचारलाई साझा शत्रुका रूपमा उल्लेख गर्दै उनले त्यसविरुद्ध शून्य सहनशीलता अपनाइने उल्लेख गरे।प्रशासनसंयन्त्र र राजनीतिमा क्रियाशील सबै भ्रष्ट नभएको पनि ओलीले उल्लेख गरेका थिए।
अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुनेगरी अख्तियारले काम गर्नुपर्ने सुझाव दिएका प्रधानमन्त्रीले कानुनी जटिलतासहितका कारणले सरकारलाई सबै कानुनी प्रक्रिया पूरा गरेर खोपजस्तो अत्यावश्यक सामग्री खरिद गर्न अप्ठेरो परिरहेको उल्लेख गरेका छन्।
स्थापना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राई लगायतले बोलेका थिए।
बिबिसी