काठमाडौं- विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ ।
नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट फर्किएका तीन जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता कोरोनाभाइरसको नयाँ प्रकारबाट सङ्क्रमित भएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छैन् ।
प्रारम्भिक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी सङ्क्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने पाइएको छ ।
सीएनएनका अनुसार पछिल्लो साता कोरोनाभाइरसको नयाँ प्रकार सङ्क्रमित बिरामी थप छ राष्ट्रमा पुष्टि भएको छ । गत् डिसेम्बर १४ मा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत सङ्क्रमितमा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएकोमा गत् सोमबारसम्म उक्त सङ्क्रमितको ९० प्रतिशत नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका थप दुई प्रकार तीब्र रुपमा फैलिरहेको जनाउँदै उक्त नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जनाएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ । बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको हो । नयाँ दुबै प्रकारको भाइरसबाट सङ्क्रमितको पहिचान नेपालमा भइसकेको छैन् ।
गत् सोमबारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोनाभाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले उल्लेख गरेको छ ।
सीएनएनका अनुसार वैज्ञानिकहरु भने कोरोनाभाइरसको स्वभाव बदलिरहेकोबाट चकित नभएको जनाएको छ । तर उनीहरु भने उत्परिवर्तन हुँदै जाँदा कुनै बिन्दुमा गएर जटिल रोग निम्तिन सक्ने जोखिमबाट त्रसित भएका छन् । विज्ञहरुले कोरोनाभाइरसको खोपले नयाँ प्रकारको कोरोनाभाइरस विरुद्धको प्रतिरक्षा प्रणाली विकसित गर्ने नगर्ने विषयलाई लिएर चिन्तित देखिएका छन् ।
’
एजेन्सी