काठमाडौं । ललितपुर जिल्ला प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएका कर्मचारीमाथि लैङ्गिक विभेद गरिएको आरोप लागेको छ।
ललितपुर क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मी र सहायक निर्वाचन अधिकृत दिनेश पौडेलले मतदान केन्द्रमा कर्मचारीहरू खटाउने काममा महिला र पुरुष भन्दै विभेद गरेको महिला कर्मचारीले आरोप लगाएका हुन्।
निर्वाचन अधिकृत मुनाकर्मी र सहायक निर्वाचन अधिकृत पौडेलले एकै पदमा कार्यरत महिला र पुरुष सरकारी कर्मचारीमा विभेद गर्दै कार्यभार तोकेको बताइएको छ।
उनीहरूले पुरुष कर्मचारीलाई मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा र महिला कर्मचारीजतिलाई सहायक मतदान अधिकृतका रुपमा खटाएको महिला कर्मचारीले गुनासो गरेका छन्।
यस्तै निर्वाचनमा खटिएकी एक सहायक निर्वाचन अिधकृतले ९३ केन्द्रमध्ये १२ मात्र महिलालाई प्रमुखको जिम्मेवारी दिइएको गुनासो गरिन्। उनी भन्छिन्, ‘महिलालाई प्राय जसो सहायक अधिकृतमा राखिएको छ। सकिन्छ बराबरी राख्नुपर्थ्यो। यदि योग्यताले नपुगेका भए पनि १२ जना मात्र राखेर महिलालाई विभेद किन गरियो ?’
निर्वाचनमा खटाउँदा योग्यताभन्दा पनि महिला भएकै कारण सहायकको जिम्मेवारी दिइएको उनको गुनासो छ। उनले सिनियारिटीसमेत नहेरी पुरुषलाई प्रमुखको जिम्मेवारी सुम्पेको आरोप लगाइन्।
उनका अनुसार दुई जना महिलाको नाम सिफारिस गर्दा एक जनालाई मतदान अधिकृत र अर्कोको सहायकमा राखिएको छ। ‘त्यो पनि उहाँको नाम पुरुषको जस्तो भएर राखेको रहेछ। यो त उहाँको ‘म्याम’ पो हो भन्दै जिम्मेवारी दिइयो। यतिसम्म विभेद सरकारी संयन्त्रमै हुनु राम्रो होइन,’ उनले भनिन्।
एकै पदमा कार्यरत कर्मचारीलाई खटाउँदा महिलाजतिलाई सहायकको जिम्मवारी दिनु र पुरुषलाई प्रमुख तोकिनु सरासर गलत रहेको एक जना वकिलले बताए।