काठमाडौं - हाल नेपालमा सञ्चालन भइरहेको कोरोनाबिरुद्धको खोप पहिलो डोज लगाएको व्यक्तिले दोस्रो डोज ८ देखि १२ हप्ता सम्म लगाउनु अझ प्रभाबकारी हुने अध्ययनले देखाएको छ ।
'स्वास्थ्य पत्रकार मञ्च नेपाल'ले आयोजना गरेको 'कोभिड १९ को माहामारी र कोभिसिल्ड खोपको प्रभाबकारीता' बिषयक अन्तरक्रिया कार्यक्रममा परिवार स्वास्थ्य महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोरोनाबिरुद्धको खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ता सम्म लगाउनु अझ प्रभाबकारी हुने विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको बताए । तर नेपालमा भने यो खोप लगाएको ४ हप्ता पछि दोस्रो डोज लगाउँने भनिएको छ ।
‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेकोले कोही कसैले शंका गर्नुपर्ने अवस्था नभएको भन्दै सबैलाई ढुक्क भएर लगाउन उनले आग्रह गरे ।
उनले फागुन २ गतेबाट पहिलो चरणको दोस्रो प्राथामितामा रहेका व्यक्तिलाई 'कोभिसिल्ड खोप' लगाउन सुरु गरिएको र हिजोमात्र १४ हजार ५२० जनाले सो खोप लगाएको बताए ।
उनका अनुसार, 'हाल नेपालमा लगाइरहेको खोप कोभिसिल्ड ७८ प्रतिशत प्रभाबकारी रहेकाले आकस्मिक सञ्चालनमा ल्याउन विश्व स्वास्थ्य संगठनले अनुमती दिएपछि नेपाल लगायत १६ वटा मुलुकमा यो खोप लगाउन थालिएको छ ।' हाल विश्वभर १० ओटा कारोना बिरुद्धको खोप प्रयोगमा रहेका छन् । ७० वटा खोप क्लिनिकल ट्रायलमा रहेका छन् भने २० वटा खोपको तेस्रो परिक्षण भइरहेको डा गौतमले बताए
हाल विश्वमा नै प्राथामिकताका आधारमा खोप लगाउन सुरु गरेको छ । त्यस्तै नेपालमा पनि यहि प्रणली अनुसार खोप अभियान सञ्चालन भइरहेको छ ।
कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलाले बताए । उनले भने, 'संक्रमण भएपनि खोप लगाइसकेका व्यक्तिहरुमा भने सामान्य लक्षणहरु मात्र देखिन्छ र मृत्यु हुने सम्भावना पनि धेरै कम हुन्छ ।' उनले खोप लगाएपनि स्वास्थ्य मापदण्ड भने पालन गर्नुपर्नेमा जोड दिए ।
कोरीयामा कोरोना संक्रमितलाई खोप लगाएपछि अध्ययन गर्दा प्रचुर मात्रामा एन्टिबडि बनेको पाइएको डा बास्तोलाको भनाइ छ । उनले भने, 'संक्रमितले खोप लगाउनु प्रभाकारी हुन्छ । संक्रमितले खोप लगाउँदा एन्टिबडि नबनेकाहरुमा एन्टिबडि बन्छ, केहि मात्रामा एन्टिबडि बनेकाहरुमा बुस्टिङ हुन्छ ।'
’