काठमाडौं- आजदेखि लागू हुने गरि निजी अस्पतालहरुमा बहिरगं (ओपिडी) सेवा शुल्क बढाइएको छ । नेपाल चिकित्सक संघ र निजी अस्पतालहरुको संस्था अफिनको संयुक्त बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहमतिमा परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
निर्णय अनुसार डाक्टरहरुको योग्यता र कार्य अनुभवका आधारमा ओपिडी शुल्क ३७० रुपैया देखि ८२५ रुपैयासम्म बनाइएको छ ।
नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् ।
डिप्लोमा गरेका डाक्टरहरुको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिने छन् ।
यस्तै, एमडी र एमएस र एमडिएस डाक्टरले ५ वर्ष भन्दा कम अनुभव भएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् ।
डिमए तथा एमसिएच गरेका डाक्टर जो ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् ।
यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस रएमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्। डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको थियो ।
उक्त समयमा हरेक २ र २ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएपनि यसो हुन सकेको थिएन । पहिलो पटक डाक्टरको परामर्श सेवा तोकिदा समयमा मेडिकल अफिसर अर्थात एमबिबिएस बिडिएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ थियो ।
यसैगरी बैठकले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुमा मेडिकल अधिकृतको न्यूनतम तलव ४२ हजार कायम गर्ने निर्णय पनि गरेको छ ।
