माघ १४ देखि भारतबाट अनुदानमा प्राप्त कोभिड खोप प्रयोग गर्दै आएको नेपालले अर्को महत्त्वपूर्ण चरणको घोषणा गर्दै 'फागुन २३ वा अझ अगाडिबाटै' उमेर समूहका मानिसहरूलाई खोप दिन थाल्ने बताएको छ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, "खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै हामी ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउँदैछौँ।"
मन्त्री त्रिपाठीले बिहीवार बीबीसीसँगको अन्तर्वार्तामा यस्तो बताएका छन्। अन्तर्वार्ता बिहीवार साँझ ८:४५ बजेको बीबीसी नेपाली सेवामा प्रशारण हुनेछ।
उनका अनुसार ६० वर्षभन्दा माथिका करिब २८-२९ लाख जनसङ्ख्या रहेको अनि ५५ वर्ष माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको छ।
खोप लिन कहाँ, कसरी जाने?
भारतबाट अनुदानमा प्राप्त कोभिशील्डको दश लाख मात्राको सुरुवाती चरणमा अग्रपङ्तिमा खटिनेहरूलाई सरकारले खोप उपलब्ध गराइरहेको छ।
यतिञ्जेल जसरी खोप दिइँदै आएको थियो अब भने त्यसमा निकै परिवर्तन हुने मन्त्री त्रिपाठीले बताए।
"अहिलेसम्म हामीले अस्पतालमा बोलाएर खोप दिइरहेका थियौँ। तर अबको चरणमा भने खोप केन्द्रहरूमार्फत् खोप दिलाइनेछ," उनले भने।
त्यसको निम्ति ६० वर्ष माथिका मानिसहरूले नागरिकता वा मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्ने उनले बताए।
खासगरि प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने केन्द्रहरूलाई खोप केन्द्रको रूपमा उपयोग गरिने उनको भनाइ थियो।
"परिचयपत्रको हकमा पनि हामीले धेरै कडाइ गर्ने छैनौँ किनभने यो कोरोना रोग परिचयपत्र भएकालाई मात्र लाग्ने, नभएकालाई नलाग्ने होइन। कुनै परिचयपत्र छैन भने वडाको सिफारिसबाट पनि खोप पाइने छ," मन्त्री त्रिपाठीले भने।
यही चरणमा कम उमेर भए पनि गम्भीर रोग लागेका तथा चाँडो खोप दिनुपर्ने व्यक्तिहरूलाई समेत समेटिने उनले बताए। डाइलायसिस गराइरहेका वा क्यान्सर रोगीहरूलाई प्राथमिकता दिइने बताइएको छ।
कति समय चल्छ अभियान?
नेपालमा कोरोनाभाइरस विरुद्धको खोप अभियान माघ १४ मा शुरू भएको हो।
पहिले स्वास्थ्य तथा सफाइमा संलग्न अग्रपङ्तिका मानिसहरू अनि त्यसपछि पत्रकार, सरकारी कर्मचारी र ब्याङ्क कर्मचारीलाई लगाइएको छ।
अनुदानमा उपलब्ध दश लाख मात्रामध्ये पहिलो मात्रा लगाइसक्दा करिब ८० प्रतिशतले लगाएको सरकारी अनुमान रहेको मन्त्री त्रिपाठीको भनाइ छ।
यो चरणमा झन्डै एक महिना खर्च भएपनि अर्को चरणका निम्ति धेरै समय नलाग्ने उनले बताए।
"शुरू गरिएको हप्ता-दश दिनमै अभियान पूर्ण हुने गरी काम गरिरहेका छौँ। खोप लगाउन भ्याक्सिनेटर वा खोपकर्ताहरूको तालिम अब भइहाल्ने छ," उनले भने।
खोप लगाउनसक्ने सामान्य ज्ञानका अतिरिक्त कोरोनाभाइरस खोप लगाएपछि आवश्यक परामर्श दिनसक्ने गरी तालिम दिइने उनले बताए।
'खोपको जोहो भइसक्यो'
उमेर समूहका मानिसहरूलाई खोप दिलाउन पुग्ने गरी खोपको जोहो भइसकेको सरकारको भनाइ छ।
"चार डलरमा सीरम इन्स्टिच्युटबाट खरिद गरेर अक्सफर्ड आस्ट्राजेनेकाको थप २० लाख मात्राको खोप ल्याउने काम टुङ्गोमा पुगिरहेको छ। कोभ्याक्सबाट पनि थप खोप आउनेछ। त्यसले हामीलाई सहज हुन्छ," उनले भने।
अन्तर्राष्ट्रिय खोप सहयोगको सञ्जाल कोभ्याक्समार्फत् नेपालले फेब्रुअरीको अन्त्यसम्म साढे २२ लाख मात्राको खोप पाउने जनाइएको छ।
त्योबाहेक चिनियाँ सिनोफार्म कम्पनीको खोपलाई पनि औषधि व्यवस्था विभागले सशर्त प्रयोगको अनुमति दिएकाले चिनियाँ खोप पनि आउने बाटो खुलेको बताइन्छ।
बिबिसी