औषधि व्यवस्था विभागले चीनमा उत्पादित कोभिड-१९ विरुद्धको सिनोफार्म खोपलाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।
यो निर्णयले हाल प्रयोगमा रहेको भारतमा उत्पादित अक्सफर्ड/एस्ट्राजेनेका बाहेक अर्को खोपलाई पनि नेपालमा भित्र्याउन बाटो खुलेको छ।
सिनोफार्म बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेडले उत्पादन गर्दै आएको छ।
केही दिन पहिले नेपालका परराष्ट्रमन्त्रीसँग भएको छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई पाँच लाख चिनियाँ खोप अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
केही साता देखि यो खोपलाई मान्यता दिने प्रक्रिया अघि बढाइएको थियो र यो बीचमा काठमाण्डूस्थित चिनियाँ राजदूतावासले अनुमोदनको प्रक्रिया द्रुत रूपमा अघि बढाइदिन सरकारलाई आग्रह गरेका विवरण पनि आएका थिए।
औषधि व्यवस्था विभागले सिनोफार्मलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय मङंगलबार भएको जानकारी हिजो गराएको थियो।