प्रधानमन्त्री केपी शर्मा ओलीका हालैका कार्यक्रममा साधा पोसाकमा खटिएका सुरक्षाकर्मीको सङ्ख्याबाट उनको सुरक्षा बढाइएको आकलन गरिएको छ।
ओली नेतृत्वमा सरकार बनेको तीन वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो।
सरकारले हालै परिमार्जन गरेको विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षासमबन्धी कार्यविधिले छजना अतिविशिष्ट व्यक्ति अनि विशिष्ट व्यक्तिलाई दिइने सुरक्षाबारे नयाँ व्यवस्था गरेको छ ।
छ जना अतिविशिष्ट व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्ष छन्।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीको सुरक्षा अन्य समयभन्दा फरक भएको चर्चा सामाजिक सञ्जालमा चलेको थियो।
प्रधानमन्त्रीको भित्री घेराको सुरक्षा व्यवस्थापनमा जिम्मा नेपाली सेनाले लिएको छ। साधा पोसाकमा सटिएका सुरक्षाकर्मीहरू सेनाकै हुन्।
के भन्छन् सुरक्षाविज्ञ?
नेपाली सेनाका सेवानिवृत्त उपरथी विनोज बस्न्यातले सिंहदरबारमा देखिएको सुरक्षा हेर्दा प्रधानमन्त्रीको सुरक्षा थप भएको आफूलाई पनि लागेको बताए ।
"अस्तिको तस्बिर हेरेर सुरक्षा तह बढाइएको नै रहेछ भनेर आकलन गर्न सकिन्छ। तर तस्बिर सबै सुरक्षाकर्मी एकै ठाउँ भेला भएको बेला लिइएको हो वा त्यसरी नै सुरक्षा प्रबन्ध गरिएको हो भन्ने चाहिँ अलि समय आफैँले नहेरी भन्न सकिन्न," उनले भने ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कार्यविधि परिवर्तन भए पनि प्रधानमन्त्रीको सुरक्षा व्यवस्थामा परिवर्तन नआएको उल्लेख गरे।
"त्यो कार्यालयको कारण मात्र त्यस्तो देखिएको हो । नेपाली सेनाको पाँच जना क्लोज प्रोटेक्शनमा खटिन्छन् । पाँच जनाले नेपाल सरकारको विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि २०७७ अनुसार नेपालका अतिविशिष्ट छ जनालाई नै सुरक्षा प्रदान गर्ने हो," पौडेलले भने।
गृह मन्त्रालयले भने प्रधानमन्त्रीको सुरक्षा थप गरिएको नभई 'पुनःपरिभाषित गरिएको' बताएको छ।
"प्रधानमन्त्रीको सुरक्षा थप भएकोभन्दा पनि पुन:परिभाषित गरिएको हो । पुन:परिभाषित भनेको एउटा सुरक्षा निकायलाई दिइएको जिम्मा अर्कोलाई दिने भन्ने हुनसक्छ," मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले भने ।
के हुन्छ ब्रीफकेसमा?
प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले बोकेका ब्रीफकेसबारे धेरैको चासो देखिएको छ।
प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीहरूले केही वर्षयता हातमा ब्रीफकेस बोकेर नजिकै उभिने गरेको देखिँदै आएको छ। यसपालि पनि ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएको देखिएको हो।
तस्बिरहरूमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरूले बोकेका तीनमध्ये दुईवटा ब्रीफकेस उस्तै देखिन्छन् भने एउटा अलि फरक छ।
सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ।
मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ।
ब्रीफकेसको ह्यान्डलसँगै रहेको ट्रिगरबाटै यसभित्र राखिएको हतियार चलाउन सकिने हतियारसम्बन्धी वेबसाइट 'गन्स'ले उल्लेख गरेको छ ।
पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन्। विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्न सक्छन्।
जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गोली र अन्य प्रहार रोक्न सकिने एक सुरक्षा अधिकारीले बताए।
कहिलेदेखि प्रयोग हुन थाल्यो?
सुरक्षा संवेदनशीलताका कारण विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी कतिपय सूचना खुलाउन नमिल्ने अधिकारीहरूको भनाइ छ।
सैनिक प्रवक्ता पौडेलले यस्ता ब्रीफकेसमा विशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रयोग हुने उपकरण राखिने जानकारी दिए। तर उनले ती उपकरणबारे विस्तारमा बताउन चाहेनन्।
"विशिष्ट व्यक्तिहरूको सुरक्षा सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार भित्री घेरामा परिचालन हुने नेपाली सेनाको टीमले बोक्ने ब्रीफकेसमा सुरक्षाको लागि आवश्यक हुने उपकरणहरू बोकेका हुन्छन्," पौडेलले भने ।
पूर्वउपरथी बस्न्यातले अतिविशिष्ट व्यक्तिको सुरक्षामा ब्रीफकेससहितको सुरक्षा उपकरण बोक्ने चलन नयाँ नभएको बताए ।
"यो नयाँ सुरु भएको होइन, सुरक्षाको एउटा भागको रूपमा पहिल्यैबाट बोक्ने गरिन्थो," बस्न्यातले भने । तत्कालीन राजपरिवारको सुरक्षामा पनि यसको प्रयोग हुने गरेको उनले बताए।
"अतिविशिष्ट सुरक्षा पाउने सबैकोमा यस्तो व्यवस्था हुन्छ। तर कस्तो अवस्थामा बोक्ने भन्ने चाहिँ विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयले तय गर्ने हो," बस्न्यातले भने । नेपालमा अहिलेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा यस्तो ब्रीफकेस बोकेको देखिएको छ।
यस्ता उपकरण धेरै अघिबाटै प्रचलनमा रहेको बताए पनि सैनिक प्रवक्ता पौडेलले ठ्याक्कै कहिलेबाट सुरु भयो भन्न सकेनन्।
चार वर्षअघि तत्कालीन प्रधानमन्त्रीको सुरक्षामा खटिएका एक सुरक्षा अधिकारीले 'ब्रीफकेस गन' त्यस बेला पनि प्रयोग हुने गरेको बताए।
तर १० वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले त्यस बेला ब्रीफकेस गन बोकेर पहरा दिइने चलन आफूलाई याद नभएको बताए।
पूर्वराजा र अन्य पूर्वपदाधिकारी किन असन्तुष्ट?
सरकारले गत मंसिरमा परिवर्तन गरेको कार्यविधिमा सबैजसो पूर्वपदाधिकारीलाई सुरक्षाका लागि प्रदान गरिने जनशक्ति कटौती गरिएको गृह मन्त्रालका प्रवक्ता बुढाले बताए ।
नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि माघ महिनाभित्र मात्रै नेपाल प्रहरीका ७७ जना र सशस्त्र प्रहरीका ९१ जना गरी १६८ जना सुरक्षाकर्मी फिर्ता आइसकेको गृह मन्त्रालयले जनाएको छ ।
संसद् विघटनको विरोधमा नेकपामा तीन र कांग्रेसका एक गरी चार पूर्वप्रधानमन्त्रीहरू सडक सङ्घर्षमै रहेका बेला सरकारले पूर्वपदाधिकारीको सुरक्षा घटाउने निर्णय गरेकाले कतिपय पूर्वपदाधिकारीहरूले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
प्रवक्ता बुढाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसहित एक दर्जनजति पूर्वपदाधिकारीले सुरक्षा नघटाउन आग्रह गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका छन् ।
"मेरो निजी बुझाइमा अहिलेको अवस्थामा पदमा नरहेका व्यक्तिहरूमा पनि उत्तिकै सुरक्षा चुनौती छ कि जस्तो लाग्छ," पूर्वउपरथी बस्न्यातले भने।
गृह मन्त्रालयले भने कतिपय पूर्वपदाधिकारीलाई सुरक्षा खतरा नभए पनि राज्यबाट उपलब्ध गराइने सुरक्षालाई समाजमा मानप्रतिष्ठाको विषय बनाइएका कारण फिर्ता गरिएको दाबी गरेको छ।
"मन्त्रालयले हचुवाका भरमा उहाँहरुको सुरक्षा फिर्ता गरेको हैन। एउटा विज्ञहरु सहितको समितिले विशिष्ट व्यक्तिहरूको सुरक्षा जोखिम, उहाँहरूको जिम्मेवारी लगायतका पक्षको अध्ययन गरेर दिएको सुझावमा आधारमा कार्यविधि परिमार्जन गरिएको हो," बुढाले भने ।
"हामी उहाँहरुलाई भएको सुरक्षा खतराको विश्लेषण गर्छौँ र साँच्चिकै खतरा छ भन्ने आधार देखिए निर्णय पुनर्विचार पनि गर्छौँ," उनले भने ।
गोप्य राखिएको कार्यविधिमा पूर्वपदाधिकारीहरुलाई उपलब्ध गराइने सुरक्षाकर्मीको सङ्ख्या घटाइएको भनिए पनि बहालवाला पदाधिकारीले पाउने सुरक्षा जनशक्तिको विषयमा गृह मन्त्रालयका अधिकारीले केही बोल्न चाहेनन्।
बिबिसी