प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ । आज पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको बताउनुभएको हो ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने उहाँको भनाइ छ । चुनाव सामग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उहाँले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको बताउनुभएको छ ।
चुनावमा सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले प्रयोग गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताउनुभयो ।
चुनाव कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनु हुँदैन र चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
चुनाव खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उहाँको भनाइ छ । आउँदो चुनावलाई मितव्ययी बनाउनका लागि आयोग सचेत रहेको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढङ्गले चुनाव सम्पन्न गराउने रहेको उल्लेख गर्दै चुनावसँग सम्बन्धित सङ्घ–संस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले आउँदो चुनावमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वाससमेत व्यक्त गर्नुभयो ।