काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् ।
बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंकरहरुले बताएका छन् ।
शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी जस्ता घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ ।
‘अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । कर्मचारीमाथि हुने सांघातिक हमला नरोकिएमा कर्मचारीहरुको सुरक्षा निम्ति बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहने उनीहरुले बताएका छन् ।