काठमाडौं- आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको छ ।
उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार र राजनीतिक दलले देहाय बमोजिमका काम कारबाही नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले निर्देशन दिने निर्णय गरेको हो ।