चितवन- चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा नजिकैको सामुदायिक वनमा निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनुभएको जानकारी अनुसार साँझपख निउरो टिप्न हरियाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएको बेला गैँडाको आक्रमणमा परी धुर्बघाट बस्ने ६० वर्षीय झन्डिल बोटेको मृत्यु भएको हो ।
चितवनमा निकुञ्ज वरपर जंगली जनावरको आक्रमणमा परी स्थानीयको मृत्यु एवं घाइते हुने गरेको भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडीले बताउनुभयो ।
जंगली जनावरबाट हुने घाइतेहरुको उपचारको लागि पश्चिम चितवन र माडी लगायत क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको वडाध्यक्ष दवाडीको भनाइ छ । जंगली जनावरको आक्रमणबाट हुने जनधनको क्षति कम गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन हुनुपर्ने स्थानीयहरुको माग रहँदै आएको छ ।