काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको दाबी गर्दै यस विषयमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पुस्तक विमोचनको प्रसङ्गलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले नियोजित रुपमा संसद् अवरोध गरेको सचिवालयले आरोप लगाएको छ ।
संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभइ निष्क्रिय भएको तथा त्यसबाट मिटरब्याज पीडितको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै मिटरब्याज पीडितको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट सङ्क्रमित भएपछि २०६७/६८ सालतिर सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको विज्ञप्तिमा भनिएको छ ।
सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको बताइएको छ ।
नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउनु हुने सिंहले अनौपचारिक भेटघाटमा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आउनुभएको सन्दर्भ पुस्तक लोकार्पणका क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गर्नुभएको सचिवालयको भनाइ छ ।
सम्मानित संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जवाफदेही रहेको उल्लेख गर्दै उहाँले संसद्मा प्रष्टिकरणको मौकासमेत नदिइ उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढङ्गले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
प्रेस सल्लाहकार आचार्यले यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न समेत सबैलाई हार्दिक अपिल गर्नुभएको छ ।।
