सरकारले चालु आर्थिक वर्ष भित्रै फाइभजी सेवा सञ्चालनका लागि परीक्षण सुरु गर्ने बताए पनि त्यस्तो सम्भावना निकै कम देखिएको छ।
तुलनात्मक रूपमा नयाँ प्रविधिको परीक्षण गर्ने सम्झौता गरेको नेपाल टेलिकम फाइभजी सेवा सञ्चालनका सरकारले लागि फ्रिक्वेन्सी निर्धारण गर्न नसक्दा अघि बढ्न नसकेको अधिकारीहरू बताउँछन्।
नेपाल दूरसञ्चार प्राधिकरणले भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गर्न सकिने फ्रिक्वेन्सीहरू सिफारिस गरिसेको जनाएको छ।
तर सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले यस विषयमा निर्णय गर्न सकेको छैन।
"यो विषयलाई विविध पाटोबाट हेर्न जरुरी छ। दूरसञ्चार प्राधिकरणले पनि यसको अध्ययन गरिरहेको छ र हामीले पनि यस विषयमा छलफल गरिनै रहेका छौँ,," मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माले बीबीसीसँग भने।
पछिल्लो अवस्था के छ?
फाइभजी सेवा परीक्षण गर्ने तयारीमा रहेको नेपाल टेलिकम फोरजी सेवा विस्तारकै चरणमा छ।
हालसम्म ६५४ स्थानीय तहमा फोरजी पहुँच स्थापित गरिसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।
"त्यो भनेको साइटका हिसाबले करिब ८० प्रतिशत हो। उच्च हिमाली क्षेत्र र काठमाण्डूका केही स्थानमा हामीले यो नेटवर्क विस्तार गर्न बाँकी छ। अबको दुईदेखि तीन महिनाभित्र हामी त्यो काम सक्ने छौँ," अधिकारीले भने।
"त्यसपछि हामीले चार सहरमा फाइभजी परीक्षण सुरु गर्ने छौँ। हाम्रो एन्टेनाले सपोर्ट गर्ने ७००, ८०० वा १८०० जस्ता ब्यान्डमा फ्रिक्वेन्सी प्राप्त भए परीक्षण अघि बढाउन त्यति धेरै समय नलाग्ला। तर २६०० देखि ३४०० वा हामीले प्रयोग नगरेको अन्य ब्यान्ड पाए नयाँ उपकरण खरिद गर्नुपर्ने हुन्छ।"
नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० ब्यान्डमै फाइभजी परीक्षण गर्ने गरी अघि बढाएको थियो।
टेलिकमले काठमाण्डू, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी प्रविधि परीक्षण गर्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले अन्तर्राष्ट्रिय नेटवर्कसँग 'हार्मोनाइज' गर्न सहज हुने अनि लागत जस्ता विषयलाई समेत ध्यानमा राखेर आफूहरूले फ्रिक्वेन्सी सिफारिस गरेको बताए।
"अहिले सञ्चालनमा रहेका ब्यान्डमै फाइभजी सञ्चालन गर्छु भने पनि त्यसो गर्न मिल्ने हिसाबले हामीले सिफारिस गरेका छौँ," अर्यालले भने।
कुन ब्यान्डमा फाइभजी चलाउने भन्ने कुराभन्दा महत्त्वपूर्ण यो प्रविधिको लागत र त्यसका आधारमा बजार दीर्घकालीन रूपमा टिक्न सक्ने विषय महत्त्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्।
फोरजीमा अर्बौँ रुपैयाँ लगानी भइसकेको अवस्थामा प्रतिफल पनि हेर्नुपर्ने हुँदा परीक्षण गरिए पनि यो प्रविधि प्रयोगको व्यापकताका विषयमा भने हतारिन जरुरी नरहेको उनीहरूको भनाई छ।
के हो फाइभजी?
थ्रीजी, फोरजी र फाइभजी इन्टरनेटको गतिसँग सम्बन्धित रहेको जानकारहरू बताउँछन्।
नयाँ प्रविधिको प्रयोग सुरु भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताहरूले हाल उपलब्ध टुजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले डेटा चलाउन पाउने छन्।
मोबाइल इन्टरनेटको गति र गुणस्तर फाइभजी नेटवर्कमा तुलनात्मक रूपमा राम्रो हुने अधिकारीहरू बताउँछन्।
नेपालमा फाइभजी नेटवर्क प्रयोग गर्न सकिने उपकरणहरूको अवस्था बारे पनि प्राधिकरणले हाल अध्ययन गरिरहेको छ।
नेपाली बजारमा हाल उपलब्ध सबै फोन फोरजीमैत्री नरहेको उनीहरू बताउँछन्।
गत डिसेम्बर महिनासम्ममा नेपालमा करिब ८० लाख सर्वसाधारणहरू फोरजी नेटवर्कमा जोडिएको अनुमान प्राधिकरणको छ।
बिबिसी