काठमाडौं- आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।
साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।
पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।
सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।