नागरिकताको विकल्पमा वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रका लागि १९ लाखभन्दा बढी नागरिकको विवरण संकलन भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
२२ जिल्लामा नागरिकको बायोमेट्रिक विवरण संकलनको काम जारी रहेको विभागका निर्देशक सुवास ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथर, संखुवासभा, चितवन, ओखलढुंगा, गुल्मी, कञ्चनपुर र डडेल्धुरामा विवरण संकलनको काम सकिएको छ ।
झापा, उदयपुर, सिन्धुली, खोटाङ, काभ्रे, पूर्वी नवलपरासी, मकवानपुर, सल्यान, पाल्पा र अछाममा विवरण संकलन जारी रहेको उहाँको भनाइ छ । विवरण संकलन जारी रहँदा विभागले कार्ड छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
सवा चार करोड कार्ड छपाइका लागि टेन्डर गरिएको निर्देशक ढकालले बताउनुभयो । भोट हाल्ने जनसंख्याको करिब ७० प्रतिशतलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित कार्ड छपाइका लागि टेन्डर गरिएको उहाँको भनाइ छ ।
कार्ड छपाइको टेन्डर प्रक्रिया भर्खर सुरु भएकाले आगामी ७ देखि ८ महिनामा जिल्लाअनुसार राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने विभागको अनुमान छ ।
जिल्लाअनुसार राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।
एक जिल्लामा वितरण गर्ने कार्डमा विवरण भर्न र प्रशोधन गर्न ५ देखि २० दिनसम्म लाग्न सक्ने अनुमानसहित विभागले तयारी गरेको उहाँले बताउनुभयो ।