काठमाडौं- नेपालमा पहिलो चरणको खोप अभियानमा चार लाख २९ हजार बढिले कोरोना भाइरस बिरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपालमा खोप अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य आपतकालीन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजार ७०५ जनाले खोप लगाएको बताए ।
सबैभन्दा बढि खोप गण्डकी प्रदेशमा लगाइएको छ भने सबै भन्दा कम खोप प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशमा लगाइएको डा अधिकारीले बताए ।
डा.अधिकारीका अनुसार उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
डा.अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्धारा नै नियन्त्रण गर्ने बताए। उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप लगाउन मानिस हिच्किचाएको समेत बताए ।
विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा.राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए।
रोग लाग्नु भन्दा अगाडि नै स्वस्थय व्यक्तिलाई रोग नलागोस भनेर प्रदान गरिने जैविक उत्पादनलाई खोप भनिन्छ उनले भने 'मेडिकल उत्पादन मध्ये खोपलाई सबै भन्दा सुरक्षि मान्निछ । खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गर्ने काम गर्छ ।'
उनले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ छ ।
उनका अनुसार, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा सबैभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ । माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलङ्कामा २.५९, बङ्गलादेशमा २.०३, भारतमा १.१३ र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन् ।