काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीच प्रतिस्पर्धा हुँदै छ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७:४५ बजे शुरू हुनेछ।
गत वर्ष जयपुरमा यी दुई टोली आमनेसामने हुँदा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो। यद्यपि, राजस्थानले यो सिजन उत्कृष्ट लयमा रहेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको राजस्थानले तीन वटै खेल जितेको छ। यता, बेंगलुरूले भने लय समात्न सकेको छैन। ४ खेल खेलिसकेको बेंगलुरूले एक खेलमा मात्रै जित हात पार्न सकेको छ।
आईपीएलमा राजस्थान र बेंगलुरूबीच हालसम्म ३० खेल भएका छन्। जसमा १२ मा राजस्थान विजयी भएको छ भने बेंगलुरूले १५ खेल जितेको छ। यी दुईबीचको ३ खेल टाई भएको थियो। जयपुरमा यी दुई टोलीबीच ८ खेल भएका छन्। दुवै टोलीले ४/४ जित हासिल गरेका छन्।
गत वर्ष यी दुईबीच जयपुरमा लिग चरणको ५९औँ खेल भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरूले निर्धारित २० ओभरमा १७१ रन बनाएको थियो। १७२ रनको लक्ष्य पछ्याएको राजस्थान ५९ रनमा अलआउट भएको थियो।
लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै सिजनको शुरूआत गरेका राजस्थानले दोस्रो खेलमा दिल्ली क्यापिटललाई १२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको राजस्थान लगातार चौथो जितको खोजीमा रहेको छ।
राजस्थानका मध्यक्रमका ब्याट्सम्यान रियान पराग यस सिजन उत्कृष्ट लयमा रहेका छन्। तीन इनिङ्समा उनले २ अर्धशतसहित १८१ रन बनाइसकेका छन्। उनी सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका छन्।
उनीभन्दा अगाडि विराट कोहली (२०३ रन)छन्। दिल्लीविरुद्ध अविजित ८४ रन बनाएका पराग प्लेयर अफ द म्याच पनि घोषित भए। बलिङतर्फ स्पिनर युजवेन्द्र चहलले सर्वाधिक ६ विकेट लिएका छन्।
बेंगलुरूको खराब फर्म यस सिजन पनि जारी रहेको छ। टोलीले ४ खेलमध्ये १ मा मात्र जित हात पारेको छ। पहिलो खेलमा चेन्नईसँग पराजित भएको बेंगलुरूले दोस्रो खेलमा पन्जाबलाई हराएको थियो। तेस्रो खेलमा कोलकाता र चौथो खेलमा लखनउसँग बेंगलुरूले हार बेहोर्नुपरेको थियो।
स्टार ब्याट्सम्यान कोहली यो सिजन सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ४ इनिङ्समा २ अर्धशतकसहित २०३ रन बनाएका छन्। बलिङमा ग्लेन म्याक्सवेललेउत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले जारी सिजनमा ४ विकेट लिएका छन्।
जयपुरको सवाई मानसिंह स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यान र बलर दुवैका लागि उपयोगी मानिन्छ। शुरूका ओभरमा तीव्र गतिका बलरलाई यो पिच प्रभावकारी हुन्छ।
यो स्टेडियममा अहिलेसम्म आईपीएलका ५४ खेल भइसकेका छन्। पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले २० र दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन्।