काठमाडौँ- सहकारी ठगी सम्बन्धि प्रकरणमा संसदीय छानविन समिति बनाउने र त्यसको लागि कार्यादेश तय गर्ने भन्दै बनेको कार्यदलको बैठक अहिले सिंहदरवारमा सुरु भएको छ।
संसदीय छानबिन समितिका लागि टिओआर टुंगो लगाउन कानून मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको छ । आजको बैठकमा मन्त्री गिरी, नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल सहभागी हुनुहुन्छ ।
कार्यदलले यसअघि पनि पटक पटक बैठक बसेर संसदीय छानविन समितिको कार्यादेश बनाउन लागे पनि दलहरुबीचको विवादका कारण निचोड निस्कन सकेको थिएन ।
कार्यदलमा रहेका सत्ता पक्षका सदस्यहरुले कार्यादेशमा सर्वसाधारणको रकम अपचलन गर्ने सहकारी र स्वयं गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान गर्न अस्वीकार गरेपछि कार्यदलको बैठक निष्कर्षविहिन बनेको थियो ।
संसदीय समिति नबनेपछि संसदमा नेपाली काँग्रेसले अबरोध कायम राखेको थियो भने सरकारले काँग्रेसको विरोधको बाबजुद पनि संसदलाई अगाडि बढाएको थियो ।।