काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले काठमाडौंमा बुधबार र बिहीबारका लागि आयोजना गरेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ ।
ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै माधव नेपाल समूहले भेलामा २ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने जानकारी दिएको छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा सचिव योगेश भट्टराईले फरक विचार राख्नेलाई कारबाहीको चेतावनी नदिन आग्रह गर्नुभयो । उहाँले आफूले पार्टी एकताको पक्षमा अडिग रहेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा सचिव भटराईसहित नेताहरु स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित नेताहरु गंगालाल तुलाधार, जीवनराम श्रेष्ठ, विष्णु रिजाललगायतको उपस्थिति थियो ।