काठमाडौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भागमा बदलीसहित वर्षाको सम्भावना रहेको हो।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ।
आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा तथा केही अन्य भागहरूमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
राति पनि मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षा र हिमपात पनि हुन सक्नेछ।
मौसम पूर्वानुमान महाशाखाले यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।