काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाइएको छ । भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको बताए । ‘एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरूको स्वतः पुनःस्थापना हो,’ उनले भने, ‘यति हुँदाहुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेका छन् ।’
अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किर्एर एकताबद्ध हुन लागेको पार्टीमा गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पुर्याउन भेला आयोजना गरेको हो ।
‘अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रूपमा खारेज गरी पार्टीको विधानबमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गर्नुपर्छ भन्नेमा हामी दृढ छौं,’ सचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिंगो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र हामीले बलियो पार्टी निर्माण गर्न सक्छौं । यसबीचमा नियतवश गरिएका पार्टी एकताविरोधी, विधान प्रतिकूल र एकलौटी कदमहरूले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्ध रूपमा प्रतिवाद गर्दै असफल पार्न हामी आम पार्टी पंक्तिलाई आह्वान गर्दछौं ।’
एमालेको यो समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव भट्टराईले बताए ।