काठमाडौं । नेकपा एमाले संसदीय दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । पार्टीभित्र चुलिएको पछिल्लो विवादका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले दलको नेताका हैसियतमा बैठक बोलाएका हुन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको जानकारी दिएका छन् । उनले पार्टीभित्र चुलिएको पछिल्लो विवादका बारेमा छलफल गर्न बैठक बोलाइएको पनि बताए ।
“संसद्को नियमित अधिवेशन चलिरहेको छ । संसद्मा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने, कसरी दललाई एक ढिक्का बनाउने, कसरी संसद्मा समस्याहरू उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,” प्रमुख सचेतक भट्टराईले भने । उनले एमालेका सबै सांसद्हरुलाई बैठकमा उपस्थित हुन आमन्त्रण गरिएको जानकारी दिए । “बैठकका लागि पार्टीका सबै सांसदहरूलाई निमन्त्रणा गरेका छौं,” भट्टराईले भने, “नेता माधावकुमार नेपाल समूहका सांसदहरूलाई पनि खबर भएको छ ।”
तर, नेपाल समूहमा रहेका एमालेका सांसद्हरु बैठकमा सहभागी नहुने भएका छन् । नेपाल समूहमा रहेका एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने बताएका छन् । “हाम्रो भेला छ भन्ने त थाहा छ नि उहाँलाई । अनि भेला चलिरहेकै बेला बैठक राख्नुपर्ने ?,” प्रश्न गर्दै उनले भने, “शुक्रबार ११ बजे बोलाउनुभयो भने हामी जान्छौं ।”
प्रतिनिधि सभा सदस्यसमेत रहेका भट्टराईले संसदीय दलप्रति आफूहरुको कुनै आपत्ति नभएको पनि बताए । “अनुकूल समयमा दलको बैठक बोलाइए हामी सहभागी हुन्छौं,” भट्टराईले भने । एमालेको असन्तुष्ट नेपाल समूहले ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गरिरहेका बेलामा प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।