काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टका अभियुक्त दीनेश भट्टले बयान फेरेका छन् ।
अदालतको आदेशपछि सुधार केन्द्रमा रहेका १६ वर्षीय दिनेशले आफूलाई जर्बजस्ती घटनाको कबोल गर्न लगाएको आफ्ना बाबुसमक्ष बताएका छन् ।
उनका बाबु दीपक भट्टले भागरथीलाई आफूलाई नमारेको भन्दै प्रहरीले घाँटीमा चक्कु राखेर घटना स्वीकार गर्न लगाएको बताएका छन् । दिनेशका बाबु शनिबार उनलाई भेट्न सुधार गृहमा पुगेका थिए ।
उनका बाबुले दोगडाकेदार गाउँपालिकाका एक प्राविधिक कर्मचारीको घटनामा संलग्नता रहेको बताएका छन् ।
‘मैले हत्या गरेको होइन । हत्या गर्ने एकजना गाउँपालिकाकै कर्मचारी हुन् । कार्की थरका हुन् । अर्को एकजनालाई मैले चिनिनँ’, दिनेशको भनाई उदृत गर्दै उनले भने ।
यता प्रहरीले भने घटनामा ट्वीस्ट ल्याउन खोजिएको बताएको छ । सुदुरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले तथ्य र प्रमाणले दिनेशको संलग्नता पुष्टि भइसकेको बताए ।
यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।
गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धानपछि ती किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५–५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । ती किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
सनातन धर्म माविमा कक्षा ११ पढ्ने ती किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन्।