नेपालमा कोभिड खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति लिन दिइएको दिनको समयावधिमा कसैले पनि आवेदन नदिएको औषधि व्यवस्था विभागले जनाएको छ।
तर आपत्कालीन प्रयोगका निम्ति रुसमा निर्मित एउटा खोप दर्ताको निम्ति छुट्टै आवेदन परेको अधिकारीहरूले बताएका छन्।
आफूहरूले खोप आयात गर्ने प्रयास गरिरहेको औषधि व्यवसायीहरूले भारतको थप अर्को खोपले पनि आपत्कालीन प्रयोग र आयातका लागि अनुमति पाएकाले केही सहज हुने जनाएका छन्।
सरकारी संयन्त्रबाट थप खोप ल्याउन नसकेर खोप कार्यक्रमको तालिका प्रभावित भएको बेला निजी क्षेत्रले खोप ल्याउने र त्यसले खोप अभियानलाई सहयोग पुर्याउने ठानिएको थियो।
त्यसको निम्ति सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको दर्ता र आयातको अनुमतिका लागि आवेदन दिन सात दिनको समय तोकेको थियो।
तर उक्त समयसीमाभित्र कसैले इच्छा नदेखाएपछि सरकारले सात दिन समय थपेको छ जानकारी औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले दिएका छन्।
उनका अनुसार सात दिनको यस अवधिमा आपत्कालीन प्रयोगका लागि एउटा खोप दर्ताको आवेदन परेको छ।
प्रत्येक खेपमा आपूर्ति गर्न सकिने परिमाण र लाग्ने समय समेत खुलाएर आवेदन मागिएको थियो।
नेपालमा कोभिड खोप भण्डारण गर्न आवश्यक तापक्रम कायम गर्न सक्ने नेपालमा एक दर्जनजति कम्पनी भए पनि खोप उत्पादक कम्पनीले खोप दिने निश्चित नभएकाले आवेदन दिन नसकिएको व्यवसायीहरूले बताएका छन्।
नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले हालै भारतमा उत्पादन भएको अर्को खोपलाई पनि औषधि व्यवस्था विभागले अनुमति दिएकाले खोप आयातको आशा केही बढेको उल्लेख बताए।
विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि मान्यता दिएका सबै खोपले नेपालमा पनि मान्यता पाएमा केही सहज हुन सक्ने व्यवसायीहरूको भनाइ छ।
सरकारले निजी क्षेत्रलाई ढुवानी, भण्डारण, कर, सेवा शुल्कको विश्लेषण गरी खोपबाट १० प्रतिशत सम्म मुनाफा लिन पाउने व्यवस्था गरेको छ।
’
बिबिसी