काठमाडौं- नेपालमा केहि समययता कोरोना भाइरसका संक्रमितहरु कमै संख्यामा देखिएपनि विश्व लगायत छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर देखिएको छ । जसले गर्दा नेपालमा पुन कोरोना भाइरस संक्रमण पहिलेकै गतिमा फैलन सक्ने आशंका विज्ञहरुले गरेका छन् ।
हिजो मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सभा, जुलुस, र्यालीलगायतका गतिविधि नगर्न आग्रह गरेको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध गरेको हो ।
भीडभाड हुने व्यवसायिक कार्य नगर्न, सामाजिक र भौतिक दूरी कायम गर्न, माक्सको उचित र अनिवार्य प्रयोग गर्न, तथा सावुन पानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न लगायतका स्वास्थ्य मापदण्डहरु समेत पालना गरी कोभिड १९ को संक्रमण रोकथाममा सहयोग गर्न सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताएका छन ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेसँगै जनमानसमा भने पुनः नेपालमा लकडाउन हुने होकि भन्ने त्रास देखिएको छ । तर शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोला भन्छन्, 'स्वास्थ्य मन्त्रालयले कुनैपनि महामारी आएर जनमानसमा त्रसित र भ्रमित बनाउने उदेश्यले भन्दा पनि सजक हुनका लागि सो विज्ञप्ति निकालेको हो ।'
उनले भने, 'त्यसरी भारतमा स्वास्थ्यका मापदण्ड तोड्दै जादा संक्रमितहरुको संख्या ह्वातै बढेको देखियो । त्यस्तै हाम्रो देशमा पनि हाल आएर स्वास्थ्यको कुनै पनि मापदण्ड पालना नगरेर मास्क नलगाउने भिडभाडमा जाने, भोज भतेर गर्ने, पाटि प्यालेसमा जादा पनि कागको बिचमा बक्कुला जस्तै कम मात्रामा मास्क लगाएको देखियो धेरै ठाउँहरुमा दुरी कायम नगरी भेन्टिलेसन नभएको ठाउँमा कार्यक्रम गर्ने जस्ता क्रियाकलापहरुले गर्दा कोरोना संक्रमण पुनः नदेखिएला भन्न सकिने अवस्था छैन । '
नेपालमा बाहिरबाट नै कोरोना भाइरस ल्याउनु पर्छ अनि दोस्रो लहर आउँला भन्ने अवस्था छैन । नेपालमा अझैपनि व्याप्त मात्रामा कोरोना भाइरस छ । यसरी नै स्वास्थ्यका मापदण्डहरु तोड्दै कोरोना भाइरस केहि पनि होइन, कुनै संक्रमितको पनि मृत्यु भएको छैन भन्ने जस्तो सोचाइलाई रोक्नका लागि सरकारले बारम्बार स्वास्थ्यको मापदण्ड पालना गरौं भनिरहेको डा.बास्तोलाले बताए ।
उनले पहिलाको जस्तै पुन नेपालमा माहामारी त नफैलिएला तर पनि शहरी क्षेत्रको भिडभाडलाई हेर्ने हो भने कोरोनाका बिरामी ह्वात्तै बढ्न सक्ने अनुमान सहजै लगाउन सकिने बताए । नेपालमा हाल कस्तो किसिमको कोरोनाको प्रजाती फैलिरहेको छ भन्ने विषय अध्ययन अनुसन्धानकै क्रममा छ । केहि दिन पहिलामात्र एउटा भ्यान्टिलेसन नभएको हलमा उपस्थित ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा नभएको भन्दै डा. बास्तोलाले स्वास्थ्यका मापडण्ड त अपनाउनौं पर्छ भन्ने कुरामा जोड दिए ।
कोरोना भ्याक्सिन आइसक्दा पनि स्वास्थ्यको मापदण्ड पालन किन ?
कतिपय व्यक्तिहरुमा कोरोना भ्याक्सिन आइसक्यो वा कोरोना भाइरस केहि पनि होइन भन्ने जस्ता भ्रमहरुले गर्दा पनि कोरोना संक्रमण फैलने सम्भाबना बढिरहेको छ ।
डा. बास्तोला भन्छन्, 'हाल टेकु अस्पतालमा ३ जना कोरोना संक्रमितका बिरामीहरु भर्ना भएका छन् । उनिहरु निमोनियाका सिकिस्त बिरामी हुन् । ती बिरामीहरु पनि त स्वास्थ्यको मापदण्ड पालना नगरेर नै कोरोना संक्रमित हुन पुगेका हुन् । त्यस कारण अझैपनि हामीले कोरोनाबाट जोगिनका लागि सावधानिहरु अपनाउँन आवश्यक छ ।'
नेपालमा खोपको उपलब्धता कति मानिसले लगाए, कतिलाई लगाइदै छ, हामी सँग उपलब्ध खोप कति छ त भन्ने प्रश्न आवश्यक छ । हालसम्म जम्मा ५ प्रतिशत व्यक्तिहरुले मात्र खोप लगाएका छन् । हामीले कोरोनाबाट समृदायलाई सुरक्षित राख्नका लागि धेरै प्रतिशतले खोप लगाएको हुनु पर्छ ।
कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएपनि सिकिस्त नहुनु पर्ने तर पनि संक्रमित भएर अन्य व्यक्तिलाई सार्न सक्ने भएकाले खोप लगाएकाले पनि उच्च सर्तकता अपनाउनु पर्ने डा.बास्तोलाले बताए । सरकारले खोपको पहँच आम सर्वसाधारणलाई पुर्यासकेको अवस्था छैन । खोप आइसक्यो वा खोपले मात्र हमीलाई जोगाउँछ भनेर भ्रममा पर्नु जोखिमपूर्ण रहेको उनले बताए ।
कोरोना अझैपनि हाम्रो समुदायमा कायमै छ त्यसबाट बच्नका लागि साबुन पानीले हात धुने, दुरी कायम गर्ने, खुल्ला ठाउँमा कार्यक्रम नगर्ने, भ्यान्टिलेसन नभएको ठाउँमा धेरै मानिस जम्मा नहुने, माक्सको प्रयोग गर्ने जस्ता कार्यहरु गर्न सबै आम मानिलाई डा बास्तोलाले आग्रह गरे ।
’
’