छिमेकी भारतमा कोरोनाभाइरस सङक्रमणको नयाँ लहर देखा परिरहँदा नेपाल छिर्ने सीमानाकामा आफूहरूले कडाइ गरेपनि स्रोतसाधनको अभाव खेपिरहेको प्रदेश सरकारका अधिकारीहरूले बताएका छन्।
भारतमा आइतवार ६८,००० र सोमवार ५६,००० जनाभन्दा बढी सङ्क्रित फेला परेको थिए। विगत एक सातामा प्रत्येक दिन औसत ५०,००० जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट ठूलो सङ्ख्यामा नेपालीहरूको आवतजावत हुने सुदूरपश्चिम प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासकले नाकामा सञ्चालित जाँच चौकीमा जनशक्तिको अभाव रहेको बताएका छन्।
प्रदेश नं १ र २ का स्वास्थ्य अधिकारीहरूले पनि भारतमा कोभिडको नयाँ लहर देखिएसँगै आफूहरू सतर्क भएको र परीक्षणको दायरा बढाउन काम अघि बढाएको प्रतिक्रिया दिएका छन्।
महाराष्ट्रबाट कामदार फर्किने प्रमुख नाका
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार एक साताको अवधिमा गरिएका लगभग साढे १५ सयवटा एन्टिजन परीक्षणमध्ये ४७ जनामा सङ्क्रमण पाइएको छ।
उनका अनुसार स्थानीय स्तरमा परीक्षणको सेवा उपलब्ध नभएकाले ती व्यक्तिहरूबाट स्वाब सङ्कलन गरेर राजधानीस्थित राष्ट्रिय प्रयोगशाला पठाइएको छ।
उनले सीमानाकामा पर्याप्त जनशक्तिको व्यवस्थापन हुन नसकेको भन्दै त्यसले महामारी नियन्त्रणमा चुनौती निम्त्याइरहेको बताए।
"गड्डाचौकीमा म जाँदा एकजना मात्रै प्राविधिक स्वास्थ्य कर्मचारी हुनुहुन्थ्यो। त्यहाँ एउटा शिफ्टमा खासमा छ कर्मचारी चाहिन्छ। एक जना अभिलेख राख्ने चाहिन्छ, एक जना तापक्रम नाप्ने चाहिन्छ, एक जना प्रयोगशालाको मान्छे हुनुपर्छ अनि एक जना पालो दिने चाहिन्छ। तर त्यो अवस्था छैन।"
यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको भन्दै उनले अर्को प्रमुख नाका गौरीफन्टामा पनि त्यस्तै अभाव रहेको बताए।
"सबैभन्दा बढी चल्ने गौरीफन्टा नाका हो, त्यहाँ पनि दुई कर्मचारी मात्रै पठाइयो भनेपछि हामीले ५-६ जना व्यवस्थापन गरेर पठाएका छौँ। सीमानाका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेर्ने भनेको छ। उहाँहरू 'कर्मचारी राख्न सम्बन्धित पालिकाहरूमा पैसा पठाएका छौँ' भन्नुहुन्छ। पालिकाहरू 'गर्दैछौँ' भन्छन्, तर पर्याप्त जनशक्तिको व्यवस्था हुन सकिरहेको छैन।"
उनले ज्वरो लगायतका लक्षण देखिएको वा अति जोखिम रहेका भारतका महाराष्ट्र लगायत राज्यबाट आएका व्यक्तिलाई नाकामा परीक्षण गर्न थालिएको बताए।
"हिजोअस्ति दुई-तीन जनामा मात्रै सङ्क्रमण देखा परिरहेको थियो। सोमवार ३० जनाजतिको परीक्षण गर्दा १५ जनाको पोजिटिभ आएको छ। लक्षणै नभए पनि महाराष्ट्रबाट आएका व्यक्तिलाई पोजिटिभ देखिएको अवस्था छ। यदि सचेतना अपनाइएन र यहाँबाट गएका व्यक्तिहरू घरमै एक्लिएर राम्रोसँग बस्नुभएन वा पालिकाहरूले ध्यान दिन सकेनन् भने गाउँमा फैलिन सक्ने सम्भावना प्रबल हुन्छ।"
"हामीले नाका प्रवेश गरिरहेका व्यक्तिहरूलाई कम्तीमा १० दिन घरभित्र बस्न वा बाहिर कसैको पनि सम्पर्कमा नजान भनिरहेका छौँ।"
प्रदेश नं १ मा एन्टिजन परीक्षण सुरु हुन बाँकी
प्रदेश नं १ का क्षेत्रीय स्वास्थ्य निर्देशक डा. ज्ञानबहादुर बस्नेतका अनुसार अघिल्लो साता विराटनगरमा २७ वटा परीक्षण गर्दा १२ जनामा कोभिड-१९ पुष्टि भएपछि 'उच्च सतर्कता' अपनाइएको छ।
"हामीले घटनाहरूको अनुसन्धान र सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) लाई थप बढाउने निर्णय गरेका छौँ। भारतमा जुन हिसाबले सङ्क्रमणको दर बढिरहेको छ त्यो हेर्दा हामीले थप सतर्क हुनुपर्ने छँदैछ," उनले भने।
उनका अनुसार क्वारन्टीन र आइसोलेशनलाई पनि बढाउँदै लैजाने योजनाबारे कुरा भएको छ।
भारतमा बढ्दै गएको सङ्क्रमणदरलाई ध्यान दिँदै देशभरि आफूमातहत रहेका निकायलाई स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो।
पीसीआर सम्भव नभएको अवस्थामा एन्टिजन विधिमार्फत् परीक्षण गराउन मन्त्रालयको सुझाव थियो।
कोरोनाभाइसको नयाँ लहर देखा परेसँगै भारतका कतिपय sहरमा प्रतिबन्धहरू लगाइएको छ
डा. बस्नेतका अनुसार नाकाहरूमा स्वास्थ्य जाँच चौकी स्थापना भइसके पनि हालसम्म एन्टिजन परीक्षण सुरु भइसकेको छैन।
उनले यसै साताभित्र उक्त काम सुरु हुने भन्दै त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरिने बताए।
नेपाल र भारतबीच खुला सीमा रहेकाले नाकाबाट हुने आवतजावत निगरानी गर्न चुनौती रहेको डा. बस्नेत ठान्छन्।
प्रदेश नं २ को तयारी
प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाका अनुसार "दोस्रो लहरले समस्यामा पार्न सक्ने" भएकाले सावधानी बढाइएको छ।
उनले भने, "हामीले अस्पतालको तयारी गर्ने काम, क्वारन्टीन र आइसोलेशनको तयारी गर्ने काम गरिरहेका छौँ। हामीले एन्टिजन परीक्षणहरू पनि थालेका छौँ। नाकाहरूमा होलीपछि अझ धेरै जाँच चौकीहरू स्थापना गर्न लागका छौँ।"
उनले सङ्क्रमितहरूलाई लक्षित गर्दै स्थानीय तहहरूले नै क्वारन्टीन र आइसोलेशन व्यवस्थापन गर्ने विषयमा पनि छलफल भइरहेको बताए।
डा. झाका अनुसार भारतमा नयाँ लहरको सङ्क्रमण देखा परेपछि प्रत्येक दिनको अवस्था निगरानी गरिए पनि प्रदेश नं २ मा सङ्क्रमणमा खासै वृद्धि देखिएको छैन।
नाकाहरूमा दैनिक ३० देखि ५० वटासम्म एन्टिजन परीक्षण गरिएकोमा "सबैमा नेगेटिभ आइरहेको" र परीक्षणको सङ्ख्या अझ बढाउन लागिएको उनको भनाइ छ।
प्रदेश नं २ ले हाल लक्षण भएका व्यक्तिहरूको मात्रै परीक्षण गर्ने गरिरहेको अधिकारीहरू बताउँछन्।
केन्द्र सरकारसँग समन्वयन गरेर "युद्धस्तर" मा सम्भावित अवस्थाको पूर्वतयारी अघि बढाइएको डा. झाले बताए।
उनका अनुसार विगतमा प्रदेश नं २ मा २० वटासम्म जाँच चौकीहरू स्थापना गरिएका थिए।
खुला सीमा रहेकाले लगभग सबै ठाउँबाट आवतजावत गर्न मिल्ने भए पनि निगरानी गर्न स्रोत र साधनको अभाव रहेको डा. झा बताउँछन्।
अघिल्लो साता मुख्यसचिवको नेतृत्वमा भएको समितिले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई नेपाली प्रवेश गर्ने सीमानाकामा निगरानी बढाउन र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको थियो।
उक्त संयन्त्रले हाल सञ्चालनमा रहेका सीमा नाकालाई कोभिड-१९ को सङ्क्रमणको अवस्था हेरी पुनरवलोकन गर्न र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
’
बिबिसी