काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्। एमालेको दसौँ (विशेष) र एघारौं बैठक फागुन २८ गते एवं बाह्रै बैठक चैत ७ गते पार्टीको निर्णयहरूको साथमा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।
ओलीले एकलौटी रुपमा पार्टीभित्र चलेको भन्दै बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय ओलीले तल्लो तहसम्म पठाएका हुन्।
ओलीले मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू तल्लो तहसम्म पठाएका हुन्।
‘हामी गम्भीर परिस्थितिबाट गुज्रेका छौँ। केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण तीन वर्ष अगाडि सुरु गरिएको पार्टी एकीकरणको प्रक्रिया भङ्ग भयो। त्यति मात्र नभएर गालीगलौज, अमर्यादित र असभ्य आरोप लगाएर कम्युनिष्ट आन्दोलनप्रति आम जनतामा वितृष्णा पैदा गर्ने गतिविधि गरियो’ जारी निर्देशनमा भनिएको छ, ‘सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा प्रधानमन्त्री हटाउने प्रयास गरिए।’
सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू भएको पनि सुझाएको छ।
‘प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा हुनासाथ अबिर जात्रा गर्ने र विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन घर–घर धाउने कुराले नै साथीहरूको मनसाय के थियो भन्ने प्रष्ट पार्छ। त्यसैले यो वर्गीय लडाइँ थियो, श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अन्तर्गतको षडयन्त्र थियो’ निर्देशनमा भनिएको छ, ‘यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभियो।’
उनले आफ्नै एमाले नेताहरुले विरोध गरिराख्दा पूर्व माओवादी पृष्ठभूमिका कतिपय नेताहरु राजनीतिक र कानूनी असहजता भएपनि सही दिशा दिने अभियानमा दरो गरी उभिनुपर्ने बताएका छन्।
‘अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेर पार्टीहरूलाई पुरानै अवस्थामा ब्यूँताइदिए पछि र पुरानै अवस्थामा फर्कन भनेपछि नयाँ परिस्थिति निर्माण भएको छ। हामी सबैसँग खुल्ला छौँ, खुलस्त ढङ्गले वार्ता गर्न तयार छौं, सही विचार र उचित आधारमा आन्दोलनलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गर्छौँ’ निर्देशनमा भनिएको छ।