कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ।
रातिको समयमा कर्फ्यू लगाइनेछ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ।
भारतमा आइतवार एकैदिन ९३,२४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो।
उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।
कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १,६५,००० जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ।
महाराष्ट्र सरकारले के भन्यो?
शुक्रवारको टेलिभिजन सम्बोधनका क्रममा महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही सङ्क्रमित भएको बताएका थिए।
''मानिसहरू आफ्ना शैलीप्रति सन्तुष्ट भएका छन्। अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा हामी दुबिधामा छौँ,'' ठाकरेले भने।
''यस्तै अवस्था रहे, मैले पहिले पनि भनिसकेको छु कि १५ दिनमा हाम्रो [स्वास्थ्य] पूर्वाधार चापमा पर्नेछ।''
मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ।
त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको छ।
नयाँ नियम के छ?
सोमबारबाट महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ।
सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ।
त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ।
तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन्।
पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्याउने कार्य भने जारी राख्न पाउनेछन्।
सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।
सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ।
बिबिसी