काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७८ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना वक्तव्य जारी गरेर सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।
“नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,” सभापति देउवाले शुभकामना वक्तव्यमा भनेका छन् ।
उनले नयाँ वर्ष आमनेपाली नागरिकको सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुका बीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्ने पनि कामना गरेका छन् ।
देउवाले वर्ष २०७७ सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि कोरोनाबाट प्रभावित हुन पुगेको स्मरण गरेका छन् । महामारीका कारण स्वदेश र विदेशमा रहेका नेपाली नागरिकले जीवन गुमाउनुका साथै ठूलो संख्यामा नागरिक प्रताडित हुन परेको भन्दै उनले आमनागरिकको दैनिक जीवनमा ठूलो असर परेको पनि शुभकामना वक्तव्यमा उल्लेख गरेका छन् ।
कोरोना महामारीले उद्योग, व्यापार, विद्यालय लगायतका धेरै क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका पनि वक्तव्यमा उल्लेख छ । सभापति देउवाले महामारीका बेला जिम्मेवार प्रतिपक्षी दलका रुपमा कांग्रेसले चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्ण रुपले सहयोग गरे पनि सरकार कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा असफल र नागरिकका प्रति उदासिन रहेको बताएका छन् ।