काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
शनिबार राजधानीमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको निष्कर्ष निकाल्दै विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्दा उपयुक्त हुने निर्णय गरेको हो ।
आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।
एकताका लागि आइतबार साँझसम्म पर्खने र स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्ने नेपाल खनाल पक्षले बताइएको छ । यसबीचमा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि ओली पक्षसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । त्यसलाई असफल बनाउन विपक्षी दलहरु लागिपरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेको छ भने नेकपा माओवादी केन्द्रले पनि सरकारबाट समर्थन फिर्ता लिइ अब सर्मथन दिन नसक्ने बताएको छ । नेपाल–खनालका कम्तिमा २० जना सांसदले राजीनामा गरेको खण्डमा ओलीले विश्वासको बहुमत पाउने संभावना रहने छैन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । संसदको सबभन्दा ठूलो दल एमालेसँग १ सय २१ सिट मात्रै छ। कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), माओवादी केन्द्रका ४९ र जसपाका ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक-एक सांसद छन् । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत १ सय ३८ मत आवश्यक पर्छ। उक्त संख्या नपुगेको खण्डमा ओली सरकार ढल्नेछ