काठमाडौं– एमाले समस्या समाधान गर्न गठन गरेको द्विपक्षीय कार्यदलले पार्टीमा एकता र समझदारी वृद्धि गर्न आह्‍वान गरेको छ ।

कार्यदलको पहिलो बैठकले पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्‍वान गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पनि पार्टीपंक्तिलाई सहयोग र सदभावको लागि आग्रह गर्ने निर्णय गरेको छ ।

कार्यदलले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय तोकेर जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा संस्थापनबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।