काठमाडौं- नेपाली काँग्रेसले अहिले विहान ९ बजे पार्टीको केन्द्रीय पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको संयुक्त बैठक बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गर्ने प्रयोजनका लागि विज्ञप्ती जारी गर्नुभएपछि नेपाली काँग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने सो पार्टीले जनाएको छ ।

राष्ट्रपतिले आज वेलुकी ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समयावधि दिनुभएको छ ।

नेपाली काँग्रेसले राष्ट्रपतिको सो कदमको विरोध गरेको छ । संविधानको धारा ७६(३) बमोजिम बन्नुभएको प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजिनामा पनि नदिएको भन्दै यो कदम संविधान विपरित र अलोकतान्त्रिक भएको ठहर गरेको काँग्रेसले ठोस निर्णय गर्न आजको बैठक बोलाएको सो पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।।