काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गर्नु भएको हो । सूचनामा अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको उल्लेख छ ।

अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्ने भएकोले फिर्ता गर्न भनिएको छ ।

मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको पनि जनाएको छ ।