१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।
प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बजेट सार्वजनिक गर्ने छन् ।
अर्थ मन्त्रालयकाका अनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ ।
बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
त्यसका लागि बजेटका सबै दस्ताबेजलाई शनिबार बिहान मन्त्रिपरिषद् बैठकमा पेस गरिने र मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि बजेट भाषण गर्ने तयारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठकसमेत बोलाइसकेका छन् ।
संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । त्यसलाई बेवास्ता गर्दै सरकारले अध्यादेशबाट भए पनि पूर्ण आकारकै बजेट ल्याउने तयारी गरेको हो ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।