काठमाडौं- नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ । जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्धारित फायरिङ पोजिशनमा रही निश्चित गरिएको दूरीको टार्गेटबाट हतियारका माध्यमद्वारा (पेस्तोल र राइफल) निशाना लगाई तोकेको समय र गोली हानी बढी स्कोर प्राप्त गर्नेको जीत हुने खेल नै सुटिङ हो । कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुनुहुन्छ । ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनोटमा पर्नुभएको हो ।

त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको उहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्मस्) मा उत्कृष्ट प्रतिस्पर्धा गर्नुभएको थियो ।

भारतमा भएको वल्र्ड कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकूदमा पनि कल्पनाबाट निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो ।

यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध हुनुभएको हो । यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिनुभएको थियो ।

सुटिङमा उमेर समूह र तौल समूह नहुने हुँदा मिहिनेती खेलाडीलाई निरन्तर दक्ष प्रशिक्षकबाट प्रशिक्षण भएमा ओलम्पिक खेलमा समेत नेपाललाई पदक दिलाउन सकिनेछ । सुटिङमा खेल राइफल, पेस्तोल र रनिङटार्गेटमा खेलिन्छ । एक गोलीको सबैभन्दा बढी स्कोर १० हुनेछ । अहिले ३४ खेल विधा सञ्चालन गर्दै आएको त्रिभुवन आर्मी क्लब मुलुककै च्याम्पियनशिप विभागीय टोली हो ।

सेनाले पछिल्ला वर्षमा प्रधानसेनापति खेलकूद प्रतियोगितामा समेत सुटिङ विधा समावेश गर्दै आएको छ । व्यावसायिक रुपमा खेल्न सकिने यस विधालाई सेनाले प्राथमिकताका साथ अघि बढाइरहेको महासेनानी रायमाझीले जानकारी दिनुभयो ।

राष्ट्रियस्तरमा १० मिटर तथा दक्षिण एशियाली र अन्तरराष्ट्रिय प्रतियोगिता २५ मिटर र ५० मिटर दूरीमा यो खेल खेलाइने गरिएको छ । परापूर्वकालदेखि नै आफ्नो रक्षाका लागि सुटिङको प्रयोग गरिँदै आए पनि खेलका रुपमा जर्मनबाट १८औँ शताब्दीबाट शुरु भएका हो ।

नेपालमा २०३९ सालबाट शुरु भए पनि सेनामा विसं २०४३ बाट प्रवेश पाएको यस विधामा अहिले सेनाका १५ खेलाडी अभ्यासरत रहेको जानकारी दिइएको छ ।