काठमाडौँ- नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।

आन्तरिक विवाद चर्कँदै गर्दा एमालेले माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका केही नेतालाई कारवाही गरेको छ भने केहीलाई कारवाहीको प्रकृया अघि बढाएको छ ।

पार्टीका दोश्रो पुस्ताका नेताहरुले पार्टी एकताका लागि पहल गरिरहँदा थप कारवाहीको प्रकृया रोकिएको छ ।

सरकार र पार्टी संचालनमा देखिएका विवाद चुलिएर सतहसम्म आइपुग्दा यसको असर राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत परेको छ । पार्टीभित्रैबाट अन्तर्घात भएकोले आफ्ना उमेद्वार बाग्मती र लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उप निर्वाचनमा पराजित भएको निष्कर्ष हिजो मात्र एमालेले निकालेको थियो ।।