काठमाडौं, असार ६ गते । भोलि सोमबार रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ । यसैगरी थप गरिएको निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।
यसैगरी, निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।
विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।